दुई दिन नेकपा बैठक सार्न कसले लगायो ?

प्रधानमन्त्री ओली शनिबार पार्टी बैठकमा एक दिन बैठक स्थगितको माग लिएर मात्र सहभागी भएको खुलासा

सफल खबर संवाददाता

आइतबार, १४ असार २०७७, ०९ : १७
दुई दिन नेकपा बैठक सार्न कसले लगायो ?

काठमाडौं । १० असारबाट सत्तासिन दल नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बीचमा एक दिन स्थगित बैठक अब १६ असारमा मात्र बस्नेछ । आज र भोलि फेरि नेकपाको बैठक नबस्ने भएको छ । शुरुको बैठकमा अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आ–आफनो सम्बोधन गर्ने देखि बैठकका एजेण्डा स्थायी समितिले पारित गर्ने सम्मका काम भएका थिए ।

त्यसपछि दुई दिन बैठक रोक्ने प्रस्ताव बैठकमा आएको थियो । राजनीतिक प्रतिवेदन बैठकमा थिएनन् । मात्र यसपटक दुई अध्यक्षको सम्बोधनलाई नै आधार बनाएर एजेण्डामा स्थायी समिति सदस्यले छलफल गर्नुपर्ने थियो । त्यही बीच अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बैठक कहिले राख्ने भन्नेमा केही बोलेनन । उनी त शुरुमै बैठक नै राख्न चाहिरहेका थिएनन् । तर अध्यक्ष प्रचण्डले विधानतः पनि बैठक राख्नुपर्ने, विषय र छलफलका एजेण्डाका आधारमा पनि बैठक राख्नुपर्ने र स्थायी समितिका ४५ प्रतिशत सदस्यले नै लिखित रुपमा पनि बैठक माग गरेकोले राख्नुपर्ने अडान नछोडेपछि ओली बाध्य भएर बैठक राख्न सहमत भएका थिए । 

तर ओलीले पार्टी वैठक राख्नै चाहेका थिएनन । नेकपाभित्र विवादमा परेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) सम्झौता उनी सिधै संसदमा लगेर बरु आफ्नो पार्टीले साथ नदिएपनि आफु निकट सांसद, प्रतिपक्ष काँग्रेस, जनता समाजवादी पार्टी लगायतका सांसदको साथ लिएर अनुमोदन गराएर जान चाहन्थे । तर पार्टीभित्र उनको अवस्था प्रतिकुल बन्दै गएको वातावरणले बाध्य भएर उनलाई पार्टी वैठक बोलाउन बाध्य बनायो । १० असारको बैठकपछि अध्यक्ष प्रचण्डले दुई दिन बैठक रोक्न चाहेका थिए । अर्थात ११ र १२ गते दुई दिन बैठक रोकेर १३ गतेबाट बैठक राख्न उनले चाहेका थिए ।

दुई दिन दुई अध्यक्षको धारणा, बैठकका एजेण्डामा सदस्यहरुले राम्रोसँग तयारी गर्न पाउने र त्यसै आधारमा १३ असारबाट निरन्तर बैठक राख्ने प्रचण्डको योजना थियो । तर सदस्यहरुले बीचमा १ दिन मात्र तयारीका लागि समय उपलब्ध गराए पुग्ने, धेरै ग्याप राख्न नहुने धारणा नेताहरुले राखेपछि एक दिन मात्र ग्याप राखेर १२ गतेवाट फेरि बैठक शुरु भयो । तर शुक्रवार र शनिवार दुई दिन बठक बसेर फेरि दुई दिन नेकपा बैठक स्थगित भयो ? अखिर किन ?  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, १४ गते मदन जयन्तीमा नेताहरुका विभिन्न कार्यक्रम रहेकोले र १५ असार धान दिवस र दही चिउरा खाने दिन भएकोले ।

अब एकैपटक १६ असारमा बिहान ११ बजे यही (वालुवाटारमा) नै बैठक बस्नेछ । तर दुई दिन बैठक स्थगित हुनुमा कुन नेताले भूमिका खेले ? त्यो पाटो भने बाहिर सार्वजनिक भएको छैन् । तर नेकपाका एक नेताले सफलखबरलाई दिएको जानकारी अनुसार, आजको लागि प्रधानमन्त्री ओलीले नै बैठक स्थगित राख्न प्रचण्डलाई आग्रह गरेका थिए । शुक्रबारको बैठकमा सहभागी नै नभएका ओली शनिबारको बैठकमा जम्माजम्माी १०, १२ मिनेटका लागि सहभागी भएका थिए । त्यही उनले प्रचण्डसँग सल्लाह गरे, भोलिको बैठक चाँही रोक्नु हैं । 

ओलीले मदन जयन्तीका दिन नेताहरुका विभिन्न कार्यक्रम छन, म आफै पनि मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु पर्नेछ । त्यसकारण एक दिन बैठक रोक्नुहोस, ओलीले प्रचण्डलाई शनिबारको बैठकमा एकछिन सहभागी हुदाँ भनेका थिए । त्यक्तिकै लागि ओली बैठकमा आएका रहेछन भन्ने चर्चा पनि नेकपा नेताहरु गर्छन् ।  ओलीले एक दिन बैठक रोक्न भनेपछि कृषि मन्त्री घनश्याम भुषालले पनि थप एक दिन बैठक रोक्न समय मागे । १५ असार नेपाली किसानहरुको पर्व हो ।

यो दिन धान दिवस, नेताहरु दही चिउरा खाने दिन त्यसदिन पनि रोकौं, भुषालले प्रचण्डसँग आग्रह गरे । त्यसपछि उपाध्यक्ष तथा किसान नेता वामदेव गौतमले पनि १५ असारमा पार्टी बैठक राख्न नहुने मत राखे । १४ असारमा मदन जयन्ती रोक्ने भएपछि १५ असारमा पनि रोकौं । किसानहरुको धान दिवसका दिन र दही चिउरा खाने दिन थप एक दिन रोकौं, त्यसपछि बैठक राखौं, गौतमले पनि प्रचण्डसँग भने । 

त्यसपछि नेकपा बैठक अब १६ असारमा बस्ने गरी स्थगित भएको हो । अबको बैठकमा कोभिड १९ रोकथाम र नियन्त्रणमा सरकारले गरेको कामका विषयमा केन्द्रीत गरेर नेताहरुले बैठकमा समिक्षा गर्नेछन् । त्यसपछि सरकारको कामको समिक्षा र बहुचर्चित एमसिसिका विषयमा नेकपाभित्र बहस हुनेछ । 

प्रतिक्रिया दिनुहोस