नेकपाको स्थायी कमिटिको बैठक आज पनि बस्दै, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली सहभागी नभएको भन्दै चर्को आलोचना

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, १० : ३०
नेकपाको स्थायी कमिटिको बैठक आज पनि बस्दै, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली सहभागी नभएको भन्दै चर्को आलोचना

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटरमा ११ बजेपछि सुरू हुनेछ । बुधबारबाट सुरू भएको बैठकमा शुक्रबार १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा बाँकी सदस्यले धारणा राख्ने छन् । बुधबारकै बैठकले तय गरेका सात एजेन्डाका विषयमा बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

हिजोको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले बोलेका थिए। हिजोको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको भन्दै सदस्यहरूले विरोध जनाएका थिए । बालुवाटारमै आयोजित बैठकमा पनि प्रधानमन्त्री सहभागी भएपछि बैठक पार्टी कार्यालय धुम्बाराहीमै सार्नुपर्ने माग गरिएको थियो । 

बैठकमा नेता भिम रावलले प्रधानमन्त्रीकै सजिलोका लागि बालुवाटारमा बैठक राखिएको भएपनि प्रधानमन्त्री नै सहभागी नहुने हो भने बैठक धुम्बाराही सार्नुपर्ने बताएको एक नेताले बताए । अर्का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफ्नै दैलोमा राखिएको बैठकमा पनि अध्यक्ष सहभागी नहुनु हेपाहा प्रवृत्ति भएको बताएकी थिइन ।

बैठकमा स्थायी कमिटीको बैठकमा भारतसँगको सीमा नियमन गर्नुपर्ने आवाज उठेको थियो । बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरूले भारतसँग खुला सीमाका कारण सधैं समस्या परिरहेको धारणा राखेका थिए। केही सदस्यले आवश्यक परे सीमामा तारबार लगाउनुपर्ने बताएका थिए।तीमध्ये परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कूटनीतिक पहल गरिरहेको भए पनि भारतले सकरात्मक तत्परता नदेखाएको बताए।
 

प्रतिक्रिया दिनुहोस