नेकपा स्थायी समिति बैठकको पूर्वसन्ध्यामा राष्ट्रपति र प्रधानमन्त्री ओली बिच भेटघाट

सफल खबर संवाददाता

बुधबार, १० असार २०७७, ०९ : १९
नेकपा स्थायी समिति बैठकको पूर्वसन्ध्यामा राष्ट्रपति र प्रधानमन्त्री ओली बिच भेटघाट

काठमाडौं  । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक ६ महिनापछि आज बल्ल बस्दैछ । पार्टीका २० जना स्थायी समिति सदस्यले बैठक माग गरेको ठीक दुई महिनापछि आज बैठक बस्न लागेको हो ।  विधानतः कुनै कमिटिका २५ प्रतिहत सदस्यले बैठक माग गरेको १५ दिनभित्र बैठक बोलाउनु पर्ने प्रावधान छ ।

तर प्रधानमन्त्री केपी ओलीले आफुले गरेका गलत क्रियाकलाप देखि पार्टीमा आफुलाई आइपर्ने जटिल अप्ठयारो टार्नका लागि बैठक टार्दै आएका थिए ।  मंगलबार दिउँसो सम्म पनि ओली पार्टी बैठक छल्ने बहानाबाजीमै थिए । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो पटक हरहालतमा बैठक राख्नै पर्ने अडानमा अडिएपछि नेकपाको स्थायी समिति बैठक अहिले बिहान ११ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । 

बैठकमा यसपटक सबैभन्दा पेचिलो विषय अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)सँगको कम्प्याक्ट सम्झौता सदनबाट अनुमोदन गर्ने, नगर्ने विषय नै बन्ने देखिएको छ । राजनीतिक प्रतिवेदन बिनानै बस्न लागेको यो बैठकको एजेण्डा नै बैठकमा नेताहरुले राख्ने सुझावका आधारमा तय हुने देखिएको छ । 

प्रधानमन्त्री ओली सकभर आज र भोलि मै बैठक टुगो लगाउने पक्षमा उभिएका छन । त अन्य नेताहरु भने सबैलाई आफ्ना धारणा राख्न दिनुपर्नेमा उभिएका छन् । बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आफु निकट नेतालाई बालुवाटारमा बोलाएर तीन घण्टा बैठकमा कसरी प्रस्तुतु हुने ? विपक्षीका रणनीति कस्ता हुन सक्छन् र त्यसमा कसरी आफुहरुले विषय राख्ने भन्ने विषयमा केन्द्रीत रहेर ब्रिफिड गरेका थिए ।

विवादित एमसीसीसँगको कम्पाक्ट सम्झौता सदनबाट अनुमोदन गर्नुपर्ने १६ असारको समयसिमा अब टरेपछि संसदमा १७ असारको बैठकमा लैजाने की समय थप फेरी माग गर्ने भन्नेमा पनि ओली क्याम्पमा छलफल चलेको छ । 
यही बीच पार्टी बैठकका अप्ठयारा सामना गर्नका लागि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी सम्मलाई पनि परिचालन गरेका थिए ।

राष्ट्रपति भण्डारीले पनि ओलीको सत्ता संकट टार्नका लागि अनेक बहनामा पार्टीका प्रभावशाली नेताहरुलाई शितल निवासमा बोलाएर फकाउने रणनीति बनाएकी थिइन् । तर त्यसमा के कति सफल भइन्, त्यो भने स्थायी समितिको बैठकमा नेताहरुले राख्ने विषयबाट मात्र थाहा हुनेछ ।

पूर्व माओवादी धारका नरमपन्थी नेताहरुलाई बोलाएर राष्ट्रपति देखि प्रधानमन्त्री र उनी निकटका सहयोगीहरुले निरन्तर छलफल गरिरहेका थिए ।  तर त्यो कामयावी त्यत्तिः नदेखिने भएपछि ओली बैठकदेखि हतास मनस्थितीमा देखिएका छन् । ११ वजे पार्टी बैठक आव्हान भएपछि हिजै बेलुकी ७ बजेदेखि ९ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । आफु निकट नेताहरु इश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाड, रघुविर महासेठ, विष्णु रिमाल लगायतसँग साँझ ४ देखि ७ बजेसम्म छलफल गरेपछि ओली राष्ट्रपति भण्डारी भेट्नका लागि शितल निवास पुगेका थिए ।

भण्डारीसँग पनि ओलीले बेलुकी ९ वजेसम्म छलफल गरेर निवास फर्केका थिए । अहिले बिहान पनि उनले केही निकट नेताहरुसँग बैठकको विषयमा परामर्श गरिरहेको बालुवाटार श्रोतले जनाएको छ । ओली पार्टीलाई छलेर एमसिसिमा सदनले नै निर्णय लिनुपर्ने पक्षमा अझै अडिग नै देखिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता आफु नेतृत्वको सरकारले अनुमोदनका लागि अगाडी बढाएको मात्र भन्दै ओलीले यस विषयमा पार्टीमा प्रचण्डसँगै किन सम्झौता त्यसबेलाको माओवादी समेत सामेल भएको सरकारले गरेको र अहिले किन विरोधमा उत्रिएको भन्ने जवाफ आफु निकट नेताहरु मार्फत बैठकमा चर्काउने गरी रणनीति बनाएको स्रोतले बताएको छ । 

सोही कारण पनि गत वर्ष देखि संसदमा अड्किएको विषयमा पार्टी नेताहरुलाई स्वविवेकीय अधिकार प्रयोग गर्न दिने गरी संसदमै यसमा छलफल गरी निर्णयमा पुग्नुपर्ने अडानमा ओली अझै पनि छन् । पार्टीले यो सम्झौता संसोधन बिना अगाडी बढाउन कुनै पनि हालतमा सरकारलाई अनुमति नदिने देखेपछि ओलीले त्यस्तो रणनीति अवलम्वन गर्न खोजेका हुन् ।

उनको यो रणनीतिमा प्रमुख प्रतिपक्षी काँग्रेस समेतको साथ लिएर एमसिसी सम्झौता सदनबाट अनुमोदन गराउन खोजेको देखिन्छन् । तर उनका लागि यो अनुकुल अवस्था छैन् । पार्टीमा एमसिसिको विपक्षमा रहेका नेताहरुले यसमा खरो गरी उत्रने तयारी गरेपछि ओली निक्कै अप्ठयारोमा परेका छन् । 

ओलीले स्थायी समिति बैठकको पूर्वसन्ध्यामा प्रमुख महत्व दिएर राष्ट्रपतिसँग भेट गर्दा पनि कसरी बैठक सेभ गर्ने भन्ने विषयमै केन्द्रीत रहेर छलफल भएको स्रोत बताउँछ । तर छलफलका सबै विषयहरु भने अहिलेसम्म खुलिसकेको छैन । ओली क्याम्पमै मुख्य सल्लाहकार विष्णु रिमाल र अर्थमन्त्री युवराज खतिवडा एमसिसि जसरी पनि अहिले संसदमै लगेर पारित गर्नुपर्ने पक्षमा अडिग छन् । तर महासचिव विष्णु पौडेल लगायत नेताहरुले सरकारले एमसिसिसँग सम्झौता कार्यान्वयको अवधीका लागि समय केही थप माग गरेर पार्टीभित्रको विवाद हल गरेर अगाडी बढनुपर्ने विकल्प प्रस्तुत गरिरहेको बताईएको छ । 

ओली पार्टीमा सकभर पेलेरै संसदमा लैजाने तर त्यो सम्भव नदेखिए महासचिवले अगाडी सारेको विकल्पबाट अगाडी जाने योजनामा रहेको देखिएका छन्  । तर यसका लागि उनले आजबाट शुरु हुने स्थायी समिति बैठकमा नेताहरुको प्रस्तुती हेर्ने तयारी गरेका छन् ।  स्थायी समिति सदस्य देवेन्द्र पौडेलले आजको बैठक सञ्चालनको विषयमा मात्र नेताहरुका बिचमा कुरा मिलेपनि बैठक समापन कसरी कुन विन्दुबाट गराउने भन्नेमा भने कुनै निश्र्कष दुई अध्यक्षका बीचमा छैन् ।

बैठकमा नेताहरुका कुरा सनेपछि मात्र के गर्ने रणनीतिमा पुगने योजनाका साथ आजको स्थायी समिति बैठक बोलाइएको पौडेलले बताए । बैठक प्रधानमन्त्रीको कार्यशैली, सरकारको काम, विवादास्पद अध्यादेश, सांसद अपहरण काण्ड देखि भ्रष्टाचार सम्मका विषयमा नेताहरुले प्रश्न उठाउने देखिएपछि ओली नेताहरुको आक्रमणको मुख्य निसानामा पर्ने देखिएका छन् । आफुमाथी सचिवालय देखि स्थायी समितिका बहुमत सदस्यहरुको घेराबन्दी कसरी तोडने भन्नेमा उनले राष्ट्रपतिसँग छलफल गरेको बताईएको छ । 
 

प्रतिक्रिया दिनुहोस