नेकपा स्थायी समिति बैठक

बालुवाटारमा ओली र प्रचण्ड आ–आफ्नै अडानमा गनगन

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०७७, ०९ : ०५
बालुवाटारमा ओली र प्रचण्ड  आ–आफ्नै अडानमा गनगन

काठमाडौं । १० असारमा स्थायी समिति बैठक बोलाएको नेकपाले स्थायी समिति बैठकको एजेण्डा के बनाउने ? बैठक कसरी सञ्चालन गर्ने, कति दिन लम्ब्याउने ? र पार्टीभित्रै विवादित एमसिसिका विषयमा के गर्ने ? भन्ने बारेमा अझै ठोस निश्र्कष निकाल्न सकेको छैन् । प्रधानमन्त्री केपी ओलीको आफ्नै ब्यक्तिगत महत्वाकांक्षा र ब्यक्तिवादी सोच र अर्का अध्यक्ष प्रचण्डको ओलीको उक्त सोच तोड्ने योजनाका बीचमा चलेको अन्तरसंर्घषका कारण नेकपामा लामो समय देखि विवाद छ ।

नेकपाका २० जना स्थायी समित सदस्य (करिब ४५ प्रतिशत सदस्य)ले बैठक बोलाउन माग गरेको दुई महिनापछि नेकपा बैठक बस्न लागेको हो । विधानतः कुनै कमिटिका एक तिहाई अर्थात २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा केन्द्रीय समितिको हकमा एक महिना र अन्य कमिटिको हकमा बढीमा १५ दिनभित्र बैठक बोलाउनु पर्ने नयम छ । 

तर ओलीले आफ्नो अप्ठयारो टार्नका लागि र सत्ता लम्ब्याउनका लागि ओलीले बैठक टार्दै आएका थिए । १० असारमा तोकिएको स्थायी समिति बैठक पनि ओलीको इच्छामा बोलाइएको होइन् । उनको अनिच्छाका बाबजुद नेकपाका अन्य नेताहरुको जोडबलले बैठक छल्नै नसक्ने अवस्था आएपछि नेकपाले स्थायी समिति बैठक बोलाएको हो । तर फेरि १० असारको स्थायी समिति बैठक पनि बस्छ, बस्दैन भन्ने अझै नेताहरु विस्वस्त भने हुन सकेका छैनन् । 

के थाहा प्रधानमन्त्रीले अन्तिम दिन कुनै बहानाबाजीमा बैठक पो सारिदिन्छन की ? नेकपाका एक स्थायी समिति सदस्यले भने । स्थायी समितिका सदस्यले गरेको यही आशंकाका बीच वैठकका एजेण्डा तय गर्ने उद्येश्यले आइतबार बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलका बीचमा छलफल भएको थियो ।

बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म तीन नेताका बीचमा बालुवाटारमा छलफल भएको थियो । बालुवाटार स्रोतका अनुसार, आइतबारको छलफलमा पनि ओली र प्रचण्डका बीचमा एमसिसिलाई कसरी बैठान गर्ने भन्नेमै केन्द्रीत रहेर कुराकानी भएको थियो । स्थायी समितिका बहुमत सदस्य एमसिसिको विपक्षमा छन् । यस्तो बेला कसरी त्यसलाई पार लगाउने भन्नेमा ओली देखिन्छन् । पार्टीमा कार्यदलले बनाएको प्रतिवेदनमा छलफल गर्ने र सदस्यहरुले जे जसरी विषय उठान गर्छन्, त्यही आधारमा पार्टीले निर्णय लिनुपर्ने मतमा प्रचण्ड अडिग छन् ।

उनले हिजोको छलफलमा पनि एमसिसिमा पार्टी निर्णय उठाउनु पर्ने तर्क गरेका थिए । तर ओली अप्ठयारो अवस्थामा सहयोगी बन्न प्रचण्डसँग आगह गरेका थिए । मेरो रहरले मात्र एमसिसि अगाडी बढाउन खोजिएको होइन, तपाई (प्रचण्ड) र देउवा जीको पालामै भएको सम्झौताका बुँदामा टेकेर एमसिसि आएको हो, यसलाई कसरी अस्वीकार गर्न सकन्छि ? ओलीको यही प्रश्न दोहोरिरहेको स्रोत बताँउछ । 

ओली अझै पनि पार्टी बैठकमा सदनमा पुगिसकेको विषय सदनबाट टुंगो लगाउन र त्यहाँ सांसदहरुलाई आ आफनो स्वविवेकका आधारमा निर्णय प्रक्रियामा सहभागी बन्न दिने प्रस्ताव लगेर सोही अनुसार जान प्रचण्डसँग सहमति खोजिरहेका छन् । तर प्रचण्ड अझै ओलीको त्यस्तो प्रस्तावमा सहमत हुन सकिरहेका छैनन् । जसकाकारण आइतबारको छलफलमा पनि स्थायी समितिमा लैजाने एजेण्डाका विषयमा अझै कुरा मिल्न बाँकी नै रहेको बालुवाटार स्रोत बताउँछ ।