देउवालाई दुई घण्टा भेटेर के भने भारतीय राजदुतले ?

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, ०८ : ५७
देउवालाई दुई घण्टा भेटेर के भने भारतीय राजदुतले ?

काठमाडौं । नेपाल भारत सम्वन्धमा सीमा विवादले तिक्तता उत्पन्न भईरहेका बेला नेपालस्थित भारतीय राजदुतको दौडधुप निक्कै  बाक्लिएको छ । प्रधानमन्त्री केपी ओलीसँग वालुवाटारमा भेट बार्ता गरेर लामै कुराकानी गरेका नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि लामै कुराकानी गरेका छन् ।

संविधान संसोधनका सबालमा केन्द्रीय समितिबाट औपचारिक निर्णय लिने भन्दै सर्वदलीय वैठकमा समय माग गरेको कांग्रेस सभापति सँग भारतीय राजदुत यस्तो बेला भेटन पुगेका थिए, जुन बेला कांग्रेसले केन्द्रीय समितिबाट यस विषयमा औपचारिक निर्णय लिन लागेको थियो ।

अर्थात राजदुत क्वात्रा सभापति देउवा भेटन शुक्रवार साझ ५ बजे देखि ७ बजेसम्म वुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका थिए । शनिवार कांग्रेसले संविधान सांसोधनको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने काम भने गरिसकेको छ ।

सकभर संविधान संसोधनको विषयमा कांग्रेसलाई  पछि लतार्ने उदेश्य वमोजिम वुढानिलकण्ठ स्थित निवासमा पुगेका राजदुत क्वात्राले मधेस केन्द्रीत दल राजपासँग कांग्रेसलाई एउटै एजेण्डामा सहमत बनाउन चाहेका छन् । राजपाले सरकारले संसदमा लगेको संविधान संसोधन प्रस्तावमा पक्ष / विपक्ष कुनैमा पनि मतदान नगरी चुप लागेर बस्ने नीति बनाएको छ । आफुहरुले उठाएको माग समेतलाई सम्वोधन गरेर प्याकेज संसोधन प्रस्ताब लैजान सरकारलाई दवाव बढाउन राजपाले जोड गरिरहेको थियो ।

त्यसै आधारमा कांग्रेसलाई पनि त्यसैमा सहमत बनाउने र प्याकेजमा संशोधन अगाडी बढाउनु पर्ने मुद्दामा कांग्रेसलाई पनि दवाव बढाउने उदेश्यमा राजदुत क्वात्रा भारतीय सन्देश बोकेर वुढानिलकण्ठ पुगेको स्रोत बताउँछ । सरकारले लिम्पियाधुरासम्मको भूमि समेटेर बनाएको नक्सालाई संविधानको अनुसूचिमा रहेको निशान छापमा संसोधन गर्न जेठ ९ गते संसदमा संविधान संसोधन प्रस्ताव दर्ता गराएको थियो ।

यो प्रस्तावको विपक्षमा कांग्रेस जान सक्दैनथ्यो । किनकी प्रस्तावको विपक्षमा जाने वित्तिकै राष्ट्रीयता विरोधीको आरोप लाग्ने स्वतः थियो । जसकाकारण पनि कांग्रेस सरकारको प्रस्तावको विपक्षमा जानै सक्दैनथ्यो । यो कुरा बुझेका भारतीय राजदुतले संविधान संसोधन प्रस्तावलाई तत्काल  लिङरिङ्ग  गराउने उदेश्यका साथ प्याकेज संशोधन को प्रस्ताव बोकेर देउवा भेटन पुगेका थिए ।

त्यही प्रभाव हुन सक्छ, कांग्रेसको हिजो शनिवार बसेको केन्द्रीय समिति वैठकले दुई वटा  निर्णय गरेको छ । पहिलो, सरकारले अगाडी बढाएको संविधान संसोधनको प्रस्तावमा मतदान गर्ने र दोश्रो, देउवा स्वंमले नेतृत्व गरेको सरकारले अघिल्लो संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्ताव संसोधनका लागि पून संसदमा दर्ता गर्ने ।

कांग्रेसको यो निर्णयले सरकारले अगाडी बढाएको प्रस्तावमा पनि साथ दिएर आफुलाई राष्ट्रबादी  नै बनाउन चाहेको छ । अर्काे तराई मधेसका मागलाई पनि प्याकेज सहमतिमा गर्नुपर्ने राजपा लगायतको मागमा समर्थन गदै विपक्षी मोर्चा बलियो बनाउने, भारतीय राजदुतको सन्देशलाई पनि एक हदसम्म कार्यान्वयनमा लैजान चाहने दुवै आस्त्रलाई काम गर्न खोज्ने गरी काम गरेको छ ।

शनिवार मध्यरातसम्म पार्टी कार्यलयमा वैठक बसेर कांग्रेसले यो निर्णय गरेको हो । देउवासँग भारतीय राजदुत विनय मोहन क्वात्राले प्याकेज संसोधनको आवाज उठाएको विषय पनि घुमाउरो शैलीमा कांग्रेसले वैठकवाट निर्णय प्रक्रियामा लगेको अहिले चर्चा शुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस