निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे

सफल खबर संवाददाता

विहीबार, १४ फागुन २०८२, १० : २४
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं । चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति शेरबहादुर देउवा विदेश उडेका छन् ।

देउवा निकट स्रोतका अनुसार उनी स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर उडेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बेला देउवा विदेश उडेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देउवा बुधबार राति सिंगापुर एयरलाइन्सको उडानबाट विदेश उडेका हुन् । देउवा परिवारका सदस्यका साथ उपचारका लागि सिंगापुर उडेको स्रोतको दाबी छ ।

माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन भएपछि देउवा राजनीतिमा निष्क्रिय छन् । निर्वाचन आयोगले थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित समूहलाई आधिकारिकता दिएसँगै देउवा राजनीतिक कार्यक्रममा देखिएका छैनन् ।

यसअघि उनी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेपछि उपचारका लागि सिंगापुर पुगेका थिए । स्रोतका अनुसार देउवा उपचारको फलोअपका लागि फेरि सिंगापुर उडेका हुन् ।

फागुन २१ गतेको चुनावमा देउवालाई कांग्रेसले उम्मेदवार बनाएको छैन ।

प्रतिक्रिया दिनुहोस