जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ

रासस

विहीबार, ०८ जेठ २०७७, २१ : ४८
जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–२६ बरालडाँडा उपरचौर बस्ने वर्ष ४७ का शेरबहादुर राना भन्ने शेरबहादुर मगरलाई विसं २०७६ वैशाख १६ गते जवर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले १० वर्ष कैद र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने भनी फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका मगरलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा यही जेठ ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । 

पक्राउ परेका मगरलाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाएकामा अदालतको आदेशले कारागार चलान गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।