बाबुको हत्या आरोपमा दुई छोरा पक्राउ

रासस

विहीबार, ०८ जेठ २०७७, १९ : ३७
बाबुको हत्या आरोपमा दुई छोरा पक्राउ

काठमाडौं । विराटनगर महानगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा दुई छोरालाई आज प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा वडा नं १४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या दुई छोराले गरी शव घरभित्रै पुरेको जनाइएको छ ।

बुबाको हत्यामा जेठो छोरा २९ वर्षीय रोहित र माइलो छोरा २६ वर्षीय नागेन्द्र चौहानको सङ्लग्नता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व अधिकारीले बताउनुभयो । दुई दाजुभाई मिलेर बाबुको गत शनिबार राति हत्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । 

दुई छोरा मिलेर फरुवाले हानेर बाबुको हत्या गरेपछि घरभित्रै खाल्डो खनेर शव तन्नाले बेरेर पुरेको प्रहरीले जनाएको छ । माइली बुहारीले ससुरा विगत तीन दिनदेखि सम्पर्क नभएको जानकारी प्रहरीलाई दिएपछि बुधबार साँझ उत्खनन् गरेर शव बरामदपछि परीक्षणका लागि कोसी अस्पताल पठाइएको थियो ।

सत्यरामका तीन छोरामध्ये जेठा छोरा रोहितसँग बाबुसँगै आफ्नै घरमा बस्थे भने माइला छोरा नागेन्द्र श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छो छोरा सोमकुमार भने विगत तीन वर्षदेखि बेपत्ता छन् । ज्याला मजदूरी गर्ने जेठो छोरा रोहितसँग पैसा माग्दा नभएको बताएपछि बाबुले घरबाट निकाली दिने चेतावनी दिएपछि छोराबीच विवाद हुँदा हत्या भएको प्रहरीको भनाइ छ । 

बाबुसँग विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले शुरुमा बुबाको टाउकोमा प्रहार गरेको र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीले जनाएको छ । बुबाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घरभित्रै पुरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।