पत्तैै नपाई कसरी भयो कोरोना संक्रमण ?

पत्रपत्रिकाबाट

विहीबार, ०८ जेठ २०७७, ०८ : ४३
पत्तैै नपाई कसरी भयो कोरोना संक्रमण ?

काठमाडौँ । लकडाउनदेखि उनी नियमित मोबाइल गस्तीमा हुन्थे । कालीमाटी प्रहरीको इलाकाभित्र हुने जुनसुकै घटनामा सुरुमा पुग्ने उनकै भ्यान हुन्थ्यो । दैनिक १२ घण्टाको ड्युटी सकेर बानेश्वरस्थित कोठामा पुग्थे । यो दैनिकी कोरोना संक्रमित प्रहरी नायब निरीक्षक (सई) को हो । मंगलबार पनि बिहान ड्युटीबाट फर्केर दिउँसो सुते ।

बेलुका खाना खाएर सुत्ने बेलामा महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले फोन गरे र पाँच दिनअघि दिएको स्वाबको रिपोर्ट पोजिटिभ आएको भन्दै उनलाई कार्यालय बोलाए । उनी आत्तिँदै मोटरसाइकलमा कार्यालय पुगे । त्यहाँ उनलाई लिन एम्बुलेन्स आइसकेको थियो । वृत्तका साथीहरू न बोल्न सके न रुन । एकोहोरो टोलाइरहे ।

मंगलबार राति १२ बजेदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा रहेका उनले आफ्ना पीडा यसरी सुनाए–

नेपाल प्रहरीको जागिर खाएको २२ वर्ष भयो । दुई वर्षदेखि कालीमाटी वृत्तमा कार्यरत छु । त्यसअघिसम्म प्रहरी प्रधान कार्यालयमा थिएँ । लकडाउनअघि कहिले सीआरभी त कहिले मोबाइल ड्युटी पर्थ्यो । यी दुवै कुनै घटना भएमा तत्काल पुग्नैपर्ने जिम्मेवारी हुन् । लकडाउनदखि भने मोबाइल ड्युटी मात्रै पर्‍यो । कहिले बिहान १० देखि राति १० बजेसम्म हुन्थ्यो, कहिले राति १० बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्म हुन्थ्यो । १२ घण्टे ड्युटी अनिवार्य थियो । अरू बेलाजस्तै सोमबार राति १० बजेदेखि सुरु भएको ड्युटी मंगलबार बिहान १० बजे सकियो ।

रातभरि गस्ती गरेर बिहान ६ बजे कार्यालय गएँ । हातमुख धोएर फ्रेस भएँ । चिया खाएँ । कालीमाटीमा बिहान हुने भीडभाड भनिसाध्य हुँदैन । पसल बन्द गराउनै सकिँदैन । यहाँका व्यापारी अत्यन्तै अटेरी छन् । कसरी हुन्छ, व्यापार गरेर कमाउने भन्ने मात्रै ध्याउन्न छ । मंगलबार बिहान पनि यस्तै थियो । १० बजे ड्युटी सकिएपछि कार्यालयमै नुहाएर बानेश्वरस्थित कोठामा गएँ । खाना खाएँ । दिउँसो १२ बजे सुतेर ५ बजे उठें । साँझ खाजा खाएँ ।

मंगलबार मात्रै होइन, लकडाउनमा मेरो दैनिकी नै यस्तै थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार २७ जना कोरोना संक्रमित थपिएको विवरण सार्वजनिक गरको थियो । काठमाडौं उपत्यकामा पनि पाँच जना थपिएको भनिएको थियो । कहाँका परे होलान् भन्ने लाग्यो । अनलाइन र फेसबुकतिर हेरिरहें । केही पत्ता लागेन । साथीहरूलाई आफ्नो एरियामा कोही पर्‍यो कि भनेर पनि सोधें । यसरी निधिखोजी गर्नुको कारणचाहिँ आफ्नो क्षेत्रमा कोही नपरे सुरक्षित भइन्थ्यो भन्ने थियो । केही पत्ता लागेन ।

पौने ९ बजेतिर खाना खाएँ । कोठामा हामी बूढाबूढी मात्रै थियौं । सुत्ने तरखरमा थिएँ । १० बजेतिर डीएसपी सापको फोन आयो । तिम्रो रिपोर्ट पोजिटिभ आयो भन्ने छ । अफिस आऊ । अस्पताल जानुपर्छ जस्तो छ भन्नुभयो । सुन्नासाथ खलखली पसिना आयो । खङरंग भएँ । बोल्नै सकिनँ । हामी दुवै जना हेरेको हेर्‍यै भयौं । केही बेरपछि श्रीमती रुन थालिन् । उनलाई सम्झाएर राति १० बजे बाइकमा कालीमाटी गएँ । म र प्रहरी जवान भाइलाई लिन एम्बुलेन्स कार्यालयअगाडि आइसकेको रहेछ । कोहीसँग बोल्ने माहोल नै भएन । सबै साथीहरू चिन्तित थिए । नहुन् पनि कसरी रु हाम्रो भान्सा एउटै थियो । ड्युटी गर्ने गाडी एउटै थियो ।

अझ मुद्दाको भाइलाई पनि कोरोना देखिएपछि ब्यारेकमा बस्ने सबै आत्तिए । एम्बुलेन्समा राखेर हामीलाई १२ बजे बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल पुर्‍याइयो । हामी पुग्नुभन्दा अघि तीन जना रहेछन् । हामी पुगेको केही छिनपछि भक्तपुरबाट एक जनालाई ल्याए ।

हामी अहिले एउटै कोठामा ६ जना छौं । हाम्रा लागि दुईवटा ट्वाइलेट छ । सबैका लागि पानी तताउने भाँडो एउटै छ । जार एउटा मात्रै छ । सबैले त्यही भाँडो समाउँछन् । हामीमध्ये कोहीलाई संक्रमण नहुन पनि सक्छ भन्ने आशा बाँकी नै छ । तर, सामूहिक बसाइले म झन् आत्तिएको छु । खाना दिइरहेका छन् । तर, परीक्षण गर्न कोही चिकित्सक र नर्स आएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस