काठमाडौं । आफ्नै दल कांग्रेस नेतृत्वको सरकार ढालेर बागमती प्रदेशको मुख्यमन्त्री बनेका इन्द्र बानियाँले पार्टी सभापति शेरवहादुर देउवाको रोहबरमा गरेको सहमति तोडेका छन् । निर्वतमान मुख्यमन्त्री बहादुरसिंह लामासँग सत्ता हस्तान्तरणको बाटो खोल्न उनले सभापति शेरवहादुर देउवाको रोहबरमा तीन बुँदे सहमति गरेका थिए ।
कांग्रेसको संसदीय दल नेतामा अविश्वास प्रस्ताव सामना गरेका बहादुर सिंहले दल नेतामा समेत बानियाँसँग चुनाव जित्न नसकेपछि सरकार नछोडने अडान लिएका थिए । एकल दलको सरकारको नेतृत्व आफुले नगरेको र संयुक्त सरकारको नेतृत्व गर्दा दल नेता सरकार प्रमुख हुनुपर्ने ब्यवस्था नरहेको भन्दै लामाले राजीनामा नदिने अडान लिएका थिए । त्यसपछि सभापति शेरवहादुर देउवाको उपस्थितीमा लामा र बानियाँका बीचमा तीन बुँदे सहमति भएको थियो ।
सहमति अनुसार, लामाले अन्ति समयमा मन्त्री नियुक्त गरेका कांग्रेस प्रदेश सभाका तीन जनालाई मन्त्री बनाउने, त्यो पनि पहिलो चरणमै, पार्टी र सरकार आपसी छलफल र समाझदारीका आधारमा चलाउने र लामाले राजीनामा दिएर मार्गप्रसस्त गर्ने सहमति देउवाको रोहबरमा लामा र बानियाँले गरेका थिए ।
त्यही सहमति अनुसार देउवाले पनि बानियाँलाई सहमति पालना गर्न निर्देशन दिएका थिए । त्यसपछि लामाले हेटौडा पुगेर आफनो क्याबिनेटको अन्तिम बैठक राखेर पत्रकार सम्मेलन गरेर राजीनामा दिएका थिए । त्यसपछि इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्न बाटो खुलेको थियो । सोही आधारमा उनी मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री बने ।
उनले मंगलबार नै सत्ता साझेदार एमालेले आफ्नो भागमा परेका ६ वटै मन्त्रालय र कांग्रेसका तर्फबाट २ जना मन्त्री नियुक्त गरेका छन् । तर कांग्रेसले अरु मन्त्री तय गर्न सकेको छैन । कांग्रेसका तर्फबाट नियुक्त गरेका मन्त्रीमा पनि सभापति शेरवहादुर देउवाको रोहबरमा बहादुरसिंह लामासँग भएको सहमति अनुसार लामाले अन्तिम दिन नियुक्त गरेका मन्त्रीलाई उनले स्थान दिएनन् । उनले सहमति तोडेको लामाको भनाई छ ।
बानियाँले कांग्रेसका कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र शिवराज अधिकारीलाई विनाविभागीय मन्त्री बनाएका हुन् । कांग्रेसबाट थप पाँचमन्त्री नियुक्त हुन बाँकी छन् । लामाले संसदीय दल चुनावमा आफुलाई साथ दिएका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेसको आन्तरिक किचलोका कारण लामाले नियुक्त गरेका यी तिनै जनालाई सपथ नखुवाई प्रदेश प्रमुख उपचारक लागि काठमाडौं आएका थिए । त्यसपछि उनीहरुको सपथ रोकिएको थियो ।
देउवाको रोहबरमा लामाले बानियाँसँग गरेको सहमति अनुसार ती तीन जनालाई बानियाँले पहिलो चरणमा नै मन्त्री नियुक्त गर्नुपर्ने थियो । तर, बानियाँले नियुक्ति नगरी लामासँग भएको सहमति तोडेका छन् ।
एमाले मधुसुदन पौडेलको नेतृत्वमा सरकारमा सहभागी भएको छ। पौडेल कृषि तथा पशुपंक्षी विकास, डा। दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बनेका छन् । थापा यसअघि तामाङ नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री थिए ।
लामासँग पार्टी सभापति देउवाकै रोहबरमा भएको सहमति समेत बानियाँले तोडेपछि उनलाई सरकारमा साथ दिईरहेको एमाले सुरुमै झस्केको छ । कांग्रेस र एमालेका बीचमा भएको सहमति अनुसार अवको ७ महिनापछि कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व एमालेलाई अस्तान्तरण गर्नुपर्नेछ । तर बानियाँले सहज रुपमा सरकारको नेतृत्व हस्तान्तरण गरिहाल्लान् भन्नेमा एमाले सशंकित देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०८२, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
बानियाँ आज मुख्यमन्त्री नियुक्त हुँदै
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस
मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाए
बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा
मुख्यमन्त्री छोड्नु अघि लामाका तीन शर्त : देउवाले बानियाँ र लामालाई राखेर जुटाए सहमति