ओली निरङ्कुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस: वर्षमान पुन

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०८२, १६ : ०५
ओली निरङ्कुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस: वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरूप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन् ।  पार्टी सम्बद्ध गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरङ्कुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको  शृङ्खला कांग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेको टुङ्गिने दाबी उनको थियो । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लगाए ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ थियो । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे । 

‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरू दलका मूल नेतृत्वमाथि मुद्दा मामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ । रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने । एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने । राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने । माधव नेपाललाई मुद्दा लगाएर एकीकृत समाजवादी आफूमा गाभ्ने ।

उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने’ पुनले भने, ‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चलमलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छ । उहाँले अब आरजुका आमा छोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ ।’ भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी पुनले गरे । 

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको पुनले बताए ।

 ‘जब सीआईबी, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट केही पनि भेटिएन, सकिँदैन भनेपछि धेरै पहिला कुनै बेला उहाँका पिए बसेका विकेश श्रेष्ठमार्फत तान्न सकिन्छ कि भनेर शेरा दरबारतिर लाग्नुभयो, यो कुरा पुष्टि नै भइसकेको छ’, पुनले भने । 

प्रचण्डले शेरा दरबारबाट सुरु गरेर यति, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धुसहित सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएपछि ओली चुप लागेको उनको भनाइ थियो । आफूहरूले नेकपा कालमा ओलीसँग तीन वर्ष सँगै काम गरेको र उनको तरिकासँग परिचित रहेको पुनले बताए ।  ओलीको एकाधिकारवादी निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिबारे आफूहरूलाई थाहा भएरै उनीविरुद्ध आफूहरूले लडिरहेको पुनले उल्लेख गरे । 

‘सबै एमाले होइन, ओलीको झण्डामुनि रहेको दक्षिणपन्थी र एकाधिकारवादी सानो गिरोहविरुद्ध हामी लडिरहेका छौँ । केही गल्ती नगरेका कारण हामी डराएका छैनौँ । अरू पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभैलो मच्चाउने, तोडफोड गर्न सक्नुहुन्न’, उनले भने । 

पुनले ओली सरकारको एक वर्ष त्यसै खेर गएको  बताए । सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप उनको छ ।  ‘केपी ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बितेको छ । भ्रष्टाचारका एकपछि अर्को काण्ड थपिएको छ’, पुनले भने, ‘भर्खरै घूस मागेका एक मन्त्रीले राजीनामा दिए । अर्काको फेरि घूस डिल गरेको अडियो सार्वजनिक भएको छ । एक वर्षमा सरकारले बिचौलिया पोस्ने कामबाहेक केही गरेको छैन ।’

 

वर्ष

प्रतिक्रिया दिनुहोस