विदेश गएकालाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने

रासस

शुक्रबार, ०२ जेठ २०७७, २० : ०३
विदेश गएकालाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने

फाईल फोटो

काठमाडौँ । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरी सामाजिक सुरक्षालाई दिगो बनाइने बताउनुभयो । 

सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउन सरकारका विभिन्न तह र निकायबाट सञ्चालित सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई एकीकृतरुपमा कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

आफ्नो हेरचाह आफैँ गर्न नसक्ने वा श्रम गर्न नसक्ने अशक्त तथा असहाय, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका र लोपोन्मुख जातिका नागरिकको पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस