काठमाडौं । प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु भएका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । मृतकका आफन्तले घटना ‘शंकास्पद’ भन्दै छानबिनको माग गरेपछि प्रदेश प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेश बाँस्तोलाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाले समितिले शुक्रबारदेखि छानबिन शुरु गर्ने बताउनुभयो । “भोलिसम्म शव परीक्षण रिर्पोट आइपुग्छ, त्यसपछि समितिले छानबिन शुरु गर्छ”, उहाँले भन्नुभयो, “घटनाबारे प्रश्न उठिसकेपछि गहिरो अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो, शव परीक्षण रिर्पोट र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ ।”
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत खड्का सोमबार सम्पर्कविहीन हुनुभएको थियो । मङ्गलबार बिहान चौकीदेखि अन्दाजी १५०० मिटर टाढा पेस्तोलसहित उहाँ मृत अवस्थामा भेटिनुभएको थियो ।
आफन्तहरुले आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएका छन् । मृतकका दाजु यामबहादुर खड्काले चौकी इञ्चार्जको पेस्तोल कसरी जवानको हातमा पुग्यो भनेर प्रश्न गर्नुभयो । “ढाडमा निलडाम, बायाँ छातीमा सानो र दायाँ छातीमा ठूलो प्वाँल देखिन्छ”, उहाँले भन्नुभयो, “आत्महत्या गरेको व्यक्तिको हातमा पेस्तोल कसरी रहन सक्छ ? घटना शंकास्पद छ ।” यामबहादुरले चौकी इञ्चार्ज असई देवबहादुर थलालसहित चार प्रहरीविरुद्ध किटानी जाहेरी दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०१ जेठ २०७७, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु