सीमा वार्तालाई कोरोनाको अन्त्यसम्म पर्खन सक्दैनौँ : मन्त्री ज्ञवाली

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०७७, १५ : २४
सीमा वार्तालाई कोरोनाको अन्त्यसम्म पर्खन सक्दैनौँ : मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले भारतसँगको सीमा वार्तालाई कोरोनाको अन्त्यसम्म पर्खन नसक्ने बताएका छन् । उनले भारतसँग जुनसुकै तहमा भए पनि वार्ता चाहेको बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सरकारले दुई देशबीच समझदारी बनेको परराष्ट्र सचिव स्तरीय वार्ताका लागि पहल गरे पनि हुन नसकेको बताए।

‘हामीले दुई पक्षबीच सहमत भएको परराष्ट्र सचिव स्तरीय संयन्त्र हो, त्यहाँबाट वार्ता सुरू गरौं भन्ने हो’, ज्ञवालीले भने, ‘हामी प्रधानमन्त्री, परराष्ट्र मन्त्री जुनसुकै तहमा वार्ता गर्न चाहन्छौं।’

उनले सरकार कोरोनापछिसम्म वार्ताका लागि कुर्नेमा नरहेको बताए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले कोरोनापछिसम्म भनेर भन्नु भएको छ हामी त्यति पर्खंदैनौं’, ज्ञवालीले भने। यद्यपि भर्चुअल बैठक गर्न उचित नहुने उनको तर्क थियो। परराष्ट्र मन्त्री ज्ञवालीले भने, ‘तर हामी फुर्सदमा वार्ता गर्ने पक्षमा छैनौं।’

परराष्ट्र मन्त्री ज्ञवालीले वार्ताका लागि भारतलाई गत नोभेम्बरको २ तारिखदेखि सरकारले निरन्तर ताकेता गरेको उल्लेख गरे। ज्ञवालीले भारतलगत्तै चीनसँग पनि सरकारले त्रिदेशीय बिन्दु टुंगो लगाउन छलफल गर्ने बताए।

लिपुलेकका विषयमा भारत र चीनले नाका बनाउने समझदारी गरेको र उक्त भूमि नेपालको भएकाले पनि चीनसँग कुराकानी गर्नुपर्ने आवश्यकता महशुस भएको ज्ञवालीले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस