काठमाडौ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा प्रस्तुत दस्तावेज र नेताहरूका अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ज्ञवालीले भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति कांग्रेस विशेष महाधिवेशन पक्षधरले रहस्यमय मौनता साधेको आरोप लगाएका हुन्।
लोकतान्त्रिक आन्दोलनको सहयात्रीको नाताले कांग्रेस एकताबद्ध र सुदृढ बनोस् भन्ने चाहना राख्दै ज्ञवालीले आन्दोलन र अराजकताबीचको लक्ष्मणरेखा चिन्न भने सुझाव दिएका छन्।
नेता ज्ञवालीले भदौ २३ गतेको भद्र प्रदर्शन र २४ गतेको हिंसालाई अलग गरेर हेर्नुपर्ने बताएका छन्। उनले लेखेका छन्, 'समाजमा असन्तुष्टि थियो, युवाहरूको दूरी सत्तासँग बढेको थियो। तर, भदौ २४ गते प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई रक्तपातमा रूपान्तरण गर्ने र युवाहरूलाई मानवढाल बनाउने कृत्यमा संलग्नहरूलाई 'जेन्जी आन्दोलनकारी' ठान्नु र त्यसैको आडमा भएको देश दहनलाई उचित ठहर्याउनु अपराधलाई वैधता दिनु हो।'
ज्ञवालीले आक्रोश र विद्रोहका नाममा हुने विध्वंशलाई स्वीकार गर्न नसकिने बताएका छन्। 'अराजकता र आन्दोलन एउटै होइनन्। विध्वंश र विद्रोह एउटै होइनन्,' उनले भनेका छन्, 'नेतृत्वका गल्तीको बहानामा लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि नै भएको आक्रमणलाई जायज ठहर्याउन थालियो भने हामी कहाँ पुगिएला ?'
नेतृत्वको विरोध गर्ने नाममा कम्तीमा लोकतान्त्रिक शक्ति कांग्रेसले अराजकता र विध्वंशको बाटोलाई समर्थन गर्न नहुने उनको भनाइ छ ।
ज्ञवालीले वर्तमान 'कथित नागरिक सरकार' प्रति ४ महिनामै सर्वत्र असन्तुष्टि देखिएको दाबी समेत गरेका छन्। उनले ऊर्जा व्यापारमा भएको घोटाला, घाइतेहरूको उपचारमा गरिएको बेवास्ता, गैरकानुनी काममा संलग्नहरूलाई दिइएको संरक्षण र मन्त्रीहरूका विवादास्पद निर्णयले स्वयं 'जेनजी अभियन्ता'हरू समेत असन्तुष्ट रहेको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली