सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत

सफल खबर संवाददाता

आइतबार, ०६ बैशाख २०८३, २० : ३६
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत

काठमाडौं । पूर्णबहादुर खड्का समूहले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्चको फैसला विरोधाभासपूर्ण, अदालतका आफ्नै नजिर तथा निर्वाचन आयोगले कायम गरेका अभ्यासविपरित रहेको टिप्पणी गरेको छ । 

आईतवार काठमाडौंमा भएको छलफलमा सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै नेताहरुले पुनरावलोकनमा जाने सुझाव दिएको नेता मिन विश्वकर्माले बताउनु भयो । गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने सर्वोच्चको फैसला संविधान, प्रचलित कानून र नेपाली काँग्रेसको विधानसँग समेत बाझिने प्रकृतिको रहेको समेत उहाँको टिप्पणी छ । अदालतले कानूनी रूपमा विवाद समाधान गरेपनि पार्टीलाई सुदृढ बनाउने विषय अझै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले पार्टी एकताको पहल तत्काल आवश्यक रहेको औँल्याउँदै विशेष महाधिवेशनबाट आएको कार्यसमिति र सभापति गगनकुमार थापाले नेतृत्वदायी भुमिका खेल्नुपर्ने जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टीको आन्तरिक विवादका सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको छ । सर्वोच्च अदालतले गरेको फैसला आफैंमा विरोधाभासपूर्ण र आफ्नै नजिरहरुका विपरितमा र निर्वाचन आयोगले आफैंले कायम गरेका नजिरहरुका पनि विरुद्धमा छ । र झट्ट हेर्दाखेरी संविधान, कानून र नेपाली काँग्रेसको विधानसँग पनि बाझिने आदेशलाई हामीले थुप्रै असहमतिका आधारहरु हुँदाहुँदै पनि हामीले न्यायपालिकाको निर्णय मान्ने कुरा यसअघि पनि बताइसकेका छौँ । आज पनि सर्वोच्चले गरेको निर्णयलाई मानेर जाने र यसमा भएका असहमतिहरुलाई चाँही प्रकट गर्नैपर्छ भन्ने कुरा भयो । अदालतको निर्णयले कानूनी रुपमा विवाद निरुपण गरेपनि पार्टीलाई मजबुत बनाएर कसरी अघि बढ्ने भन्ने कुरामा एकताको पहल हुनुपर्छ । यसका लागि विशेष महाधिवेशनबाट आएको कार्यसमिति र सभापतिृ गगनकुमार थापाले पहल गर्नुपर्दछ । यसमा उहाँहरुले ढिलाई गर्नुभयो भने पार्टीमा गम्भीर क्षति पुग्नसक्छ । अब चाँडै नै निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बस्नेछ । सबै तहको बैठक बसेर हामी राष्ट्रिय भेला गर्छौँ । सँगसँगै सर्वोच्च अदालतबाट भएको फैसला चित्त बुझेको छैन । त्यसलाई स्वीकार गर्दै पुनरावलोकनमा पनि जाने कि भन्ने सुझाव आएको छ ।’

उहाँले निकट भविष्यमा निवर्तमान केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको बैठक बस्ने जानकारी दिँदै सबै तहका संरचनालाई समेटेर राष्ट्रिय भेला आयोजना समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस