विष्णु पौडेलले पनि छोडेका हुन् ओलीका साथ ?

शुक्रबार, १२ बैशाख २०७७, ०९ : २७
विष्णु पौडेलले पनि छोडेका हुन् ओलीका साथ ?

काठमाडौं  । प्रधानमन्त्री केपी ओलीले पार्टी छलेर ल्याएको विवादास्पद दुई अध्यादेश पछि चौतर्फी अप्ठयारोमा परेका छन् । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु अध्यादेश जसरी पनि फिर्ता हुनैपर्ने पक्षमा थिए । 

वैशाख ८ को सचिवालय बैठकमा अप्रत्याशित रुपमा प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश सही भएपनि समय मात्र उपयुक्त नभएको बताएका वामदेव गौतम, र अध्यादेशका विषयमा प्रधानमन्त्री ओलीलाई नै साथ दिएका महासचिव विष्णु पौडेल पनि अहिले अध्यादेश फिर्ता गर्नुपर्ने पक्षमा उभिएका छन् ।

दुई दिन यता विकसित घटनाक्रमपछि गौतम र पौडेल पनि अध्यादेश फिर्ताको पक्षमा उभिएका हुन् ।  सचिवालय बैठकमा प्रधानमन्त्रीले असाधारण निर्णय लिएको भनी अध्यादेशमा प्रधानमन्त्रीको बचाउमा उभिएका गृहमन्त्री रामबहादुर थापा पनि पहिलेको अडानवाट पछि हटिसकेका छन् ।

अध्यक्ष दाहालसँगको छलफल पछि उनी अध्यादेश फिर्ताको पक्षमा उभिएका हुन् । यो स्थितीमा अब प्रधानमन्त्री ओलीसँग सचिवालयमा साथ दिने नेता इश्वर पोखरेल मात्र देखिएका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर अन्य राजनीतिक दल विभाजनका लागि कलंकित काममा लागेको भन्दै प्रधानमन्त्रीको आलोचना बढदै जादा सचिवालयमा रहेका नेताहरु भने दिनानुदिन ओलीको कदमसँग रुष्ट बन्दै जान थालेका छन् ।

दुई दिन यता ओली निकट नेता महासचिव पौडेल पनि प्रधानमन्त्रीको शैलीसँग सहमत देखिएनन् । गौतम निवास भैसेपाटीमा बिहीबार साँझ बसेको सरकार बाहिर रहेका सचिवालयका ६ सदस्यहरुको छलफलमा पौडेल पनि सहभागी भएपछि के महासचिव पौडेलले पनि यस प्रकरणमा ओलीको साथ छोडेका हुन् भन्ने प्रश्न नेकपाभित्र उठेको छ ।  ‘अब महासचिवले पनि प्रधानमन्त्रीको साथ छोडेको बुझनुस् या अन्य, उहाँ पनि अहिले हामीले जस्तै अध्यादेश जसरी पनि फिर्ता हुनै पर्ने अडानमा उभिनुभएको छ,’ सचिवालयका एक सदस्यले सफलखबरसँग भने,–‘सरकार बाहिर रहेका हामी ६ जना नेताहरुकै एउटै साझा मत निर्माण भएको छ, अध्यादेश फिर्ता हुनैपर्छ ।’ 

यतिमात्र होइन, नेकपाभित्र राष्ट्रपतिले हस्तक्षेपको मात्रा बढाउदै लगेको, प्रधानमन्त्री एकलौटी हिड्न खोजेको र यस्ता प्रवृति नसच्चाए पार्टी नै बदनाम हुने हुँदा कठोर कदम चालेर अन्य नेताहरु अगाडी बढ्नु पर्ने विषयमा छलफल भएको गौतम निवासको छलफलमा महासचिव पौडेलको सहभागिता आफैमा अर्थपूर्ण छ ।  यसले पनि के महासचिव पौडेलले ओलीको साथ छोडन थालेका हुन् ? भन्ने प्रश्न उठनु स्वभाविक पनि छ । पौडेलले यस अगाडी पनि गत फागुन १४ मा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभाको रिक्त पदमा पठाउन सरकारलाई आग्रह गर्ने सत्तासिन दल नेकपाको सचिवालयको निर्णयमा पनि प्रधानमन्त्री ओलीको अनिच्छा विपरितको निर्णयको पक्षमा अडिग भएर उभिएका थिए ।

भलै त्यो निर्णय प्रधानमन्त्री ओलीको अनिच्छाबाट पनि सर्वसम्मत सचिवालयबाट पारित भएको थियो । तर त्यसलाई ओलीले अझै कार्यान्वयन गरिरहेका छैनन् । यसले पनि नेकपाभित्रको संकट झन गहिराउदै लगेको थियो । बिहीबार गौतम निवासमा ६ नेताको बैठक बस्नु अगाडी पनि पौडेल र गौतमका बीचमा गौतम निवास भैसेंपाटीमै झण्डै दुई घण्टा छलफल भएको थियो । भैंसेपाटी आवास क्षेत्र भित्र एक सय मिटर दुरीमा बसोबास गर्दै आएका यी दुई नेताका वीचमा खास सन्र्दभ नपरि भेटघाट हुने गरेको थिएन् ।

तर पौडेल र गौतम अत्यन्त निकट नेता हुन् । बिहीबार गौतम निवासमा ६ नेताको भेला अगाडी यी दुई नेताका बीचमा डेढ घण्टा लामो छलफल हुनु र त्यसलगत्तै अध्यादशेको पक्षमा बोलेका पौडेल र अध्यादेश ठिक भएपनि ल्याइएको समय अनुपयुक्त भएको बताएका गौतम पनि अन्य चार नेताझै एकाएक जसरी पनि अध्यादेश फिर्ता हुनुपर्ने पक्षमा उभिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गौतम निवासको छलफलले राष्ट्रपति र प्रधानमन्त्रीले चाहेमा जे पनि हुने, अन्य मन्त्री, पार्टी नेता, सांसद देखि कार्यकर्ताले सिन्को समेत भाँच्न नपाउने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले पहिले अध्यादेश फिर्ता गर्नुपर्ने, त्यसपछि समग्र विषयमा छलफलका लागि सचिवालय हुदै स्थायी समितिको बैठक बस्नुपर्ने निश्र्कष समेत निकालेका छन् ।

यत्ति हो की पौडेल सहित सहभागी उक्त बैठकले शुक्रवार (आज) नै प्रधानमन्त्रीले अध्यादेश फिर्ता नलिए शनिबार ओलीको अनच्छिा भएपनि स्थायी समिति बैठक धुम्बाराही पार्टी कार्यालयमा बोलाउने सम्मका समझदारी जुटाएका छन् । गौतम निवासमा भएको छलफलको निश्र्कषका बारेमा अध्यक्ष प्रचण्डले आजै प्रधानमन्त्रीसँग छलफल गर्ने र अध्यादेश फिर्ताका लागि सकारात्मक बनिसकेका प्रधानमन्त्रीमाथी थप दबाब बढाउने नकेपाका ६ नेताहरुको निश्र्कष रहेको ति सचिवालय सदस्यले सफलखबरसँग भने ।