साफ वुमेन्स यू-२० च्याम्पियनसिपमा नेपालको तेस्रो जित

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०८२, १८ : ४०
साफ वुमेन्स यू-२० च्याम्पियनसिपमा नेपालको तेस्रो जित

काठमाडौँ । नेपालले साफ वुमेन्स यू-२० च्याम्पियनसिपमा बिहीबार तेस्रो निकालेको छ । बंगलादेशको ढाकास्थित बसुबन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा नेपालले श्रीलंकालाई ७-० ले हराएको हो ।

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो र यससँगै नेपालको चार खेलबाट नौ अंक भएको छ । डबल राउन्ड रोबिनको आधार चलिरहेको प्रतियोगितामा नेपाल यसअघि श्रीलंकालाई ७-० ले नै हराएको थियो ।

यस पल्टको नेपालको जितमा समीक्षा मगरले दुई गोल गरिन । यस्तै पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र विर्षणा चौधरीले एक एक गोल गरे । अर्को एउटा गोल आत्मघाती रह्यो ।

अनिषा राई भने पेनाल्टीमा गोल गर्न चुकिन । श्रीलंका चौथो हारसँगै शून्य अंकमा रह्यो । बिहीबारको दोस्रो खेलमा बंगलादेशले भुटानको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस