विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०८२, १२ : २९
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन् ।

समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उनले बताएका छन् । यस पार्टीमा देखिएका समाधानका लागि कसैको सहयोग नचाहिने उनले स्पष्ट पारे ।

नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताए । ‘कतै पनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो,गंगाजल जस्तो पार्टी भेटिँदैन’, उपाध्यक्ष पौडेलले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’

एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधिको माध्यमबाट समाधान गरिने उहाँले बताए । उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिए । भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औँ राष्ट्रिय महाधिवेशनपछि पार्टीले वैधानिक रूपमा सच्याउनु पर्ने, कार्यान्वयन गर्न भएका अप्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रूपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ’, उपाध्यक्ष पौडेलले भने, ‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरू प्रस्ताव गर्दछ । यी विषयहरू हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ ।’

उनले विधान महाधिवेशन नै नभई पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न उनले जनसंगठनलाई निर्देशन दिएका छन् । ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौँ’, पौडेलले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’

उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए । ‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे । अहिले किन मानिसहरू शिथिल भएका छन् ?’, उपाध्यक्ष पौडेलले भने, ‘आम जनतामा उर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्वपूर्ण अंग जनसंगठन नै हुन् । उनीहरूले यो भूमिका निर्वाह गर्नुपर्दछ ।’

उपाध्यक्ष पौडेलले पार्टी निर्माणमा जनसंगठनको सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले २०४६/०४७ सालका जनसंगठन, २०६२/०६३ सालका जनसंगठन धेरै सशक्त भएको स्मरण गर्दै उनले वर्तमान अवस्थामा जनसंगठन पनि सुस्ताएको बताए ।

‘जनसंगठन पार्टीको ब्याड हो । यहाँ रोपेका बिरुवा हुर्किएपछि पार्टीमा सारिन्छ’, उनले भने, ‘त्यसैले मुलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरूलाई ल्याउने काम जनसंगठनको नै हो । तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर संगठित गर्ने अनि फेरी पार्टीमै फर्काइदिने गरेका छन् । यसले संगठन र पार्टीको बिस्तार हुँदैन ।’

जनसंगठन संयन्त्रको बैठकमा इन्चार्जहरूले रिपोर्टिङ गर्ने क्रम जारी छ । संयन्त्रका इन्चार्ज भानुभक्त ढकालका अनुसार हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज,अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिवहरू बैठकमा सहभागी छन् ।