काठमाडौं । एक वर्षअघि संविधान संशोधन र राजनीतिक स्थायित्वका नारासहित गठित कांग्रेस–एमालेको गठबन्धन सरकार अहिले संसदमा संख्यात्मक संकटमा फसेको छ । प्रतिनिधिसभामा दुई तिहाईको बहुमत गुमाउँदै गएको सरकारले राष्ट्रिय सभामा स्पष्ट रूपमा अल्पमत भोग्न बाध्य भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीले कांग्रेस एमाले गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सत्ता गठबन्धनको अंकगणित खलबलिएको हो । अब सरकारलाई विधेयक पारित गर्न पनि प्रतिपक्षी दलको सहयोग आवश्यक पर्ने अवस्था आएको छ ।
सत्ता प्राप्तिको अंकगणितका भरमा बनेको गठबन्धन अब अस्तित्वको समीकरणमा जुधिरहेको छ । बहुमतको गणना घट्दै जाँदा, विधेयक प्रक्रिया अवरुद्ध हुँदै जाँदा र विश्वासको संकट बढ्दै जाँदा संसद फेरि अस्थिरतातर्फ मोडिन सक्ने देखिएको छ ।
प्रतिनिधिसभाको समीकरण : दुई तिहाईको बहुमत संकटमा
प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन आवश्यक पर्छ । सत्ता गठबन्धनको मूल आधार कांग्रेस (८८ सांसद) र एमाले (७७ सांसद) हुन् । यद्यपि, कांग्रेसका मोहनबहादुर बस्नेत र एमालेका टोपबहादुर रायमाझी निलम्बनमा छन् । सभामुखले पनि मत दिन पाउँदैनन् ।
सुरुमा जसपाका ५, जनमतका ६ र लोसपाका ४, नागरिक उन्मुक्तिका ४ सांसदको समर्थनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष ६ साउनमा संसदमा विश्वासको मत लिँदा १८८ मत ल्याएका थिए । तर पछिल्लो दुई सातामा जसपा (५ सांसद) र नागरिक उन्मुक्ति (४ सांसद)ले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि सरकार दुई तिहाईको बहुमत भन्दा तल झरेको छ । यधपी सरकार गठन गर्ने मत प्रतिनिधिसभामा रहन्छ । त्यहाँ बहुमत कायम हुँदा सरकार टिकिरहन्छ । कांग्रेस र एमाले मात्रै मिल्दा पनि सरकारलाई प्रतिनिधिसभामा बहुमत भने पुग्छ ।
अबको प्रतिनिधिसभा समीकरण
कांग्रेस – ८८
एमाले – ७७
लोसपा – ४
जनमत – ६
कुल समर्थनः १७५
(दुई तिहाई बहुमतको लागि आवश्यक संख्याः १८४)
राष्ट्रिय सभा : सत्तापक्ष स्पष्ट अल्पमतमा
राष्ट्रिय सभामा ५९ सदस्य छन्। बहुमतका लागि ३० सांसद आवश्यक पर्छ । सरकारसँग कांग्रेस (१६), एमाले (१०), लोसपा (१) सांसद गरी जम्मा २७ मात्र छन् । जसपा नेपाल (३ सांसद) समर्थन फिर्ता गरेपछि प्रतिपक्षीहरूको संख्या राष्ट्रिय सभामा बहुमत पुगेको छ ।
राष्ट्रिय सभामा विपक्षमा रहेको समिकरण
माओवादी केन्द्र – १८
नेकपा एस (एकीकृत समाजवादी) – ८
जसपा – ३
राष्ट्रिय जनमोर्चा – १
स्वतन्त्र – १
कुल विपक्षी सांसदः ३१
यसरी राष्ट्रिय सभामा विधेयक पारित गर्न सरकारसँग आवश्यक बहुमत छैन । भूमि विधेयकजस्ता संवेदनशील विधेयक पारित गराउन अहिलेको सत्तापक्षलाई प्रतिपक्षी दलसँग संवाद र सहकार्य अनिवार्य बनेर आईदिएको छ ।
संवैधानिक प्रक्रिया र विधेयक पारित गर्ने चुनौती
नेपालको संविधानअनुसार कुनै पनि विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय सभामा पठाइन्छ । राष्ट्रिय सभाले ६० दिनभित्र छलफल गरी पारित गर्नुपर्छ । तर, राष्ट्रिय सभामा बहुमत नरहेमा विधेयक रोक्न सक्ने अधिकार विपक्षीलाई प्राप्त हुन्छ ।
यदि दुई सदनबीच मतभेद आएमा संयुक्त बैठकमार्फत निर्णय गर्न सकिन्छ, तर त्यसमा पनि सत्तापक्षसँग बहुमत नभए विधेयक पास गराउन चुनौती हुन्छ । यसले सरकारका नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन र विधायन प्रक्रियामा ठूला अवरोध ल्याउन सक्ने खतरा बढाएको छ ।
सातबुँदे सहमति : न सार्वजनिक, न योजना, न प्रतिवद्धता
२०८१ साल असारमा कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति संविधान संशोधन, चुनावी प्रणाली सुधार, तथा सत्ता बाँडफाँडमा आधारित थियो। तर एक वर्ष बितिसक्दा न त दुई पार्टीका सभापति र अध्यक्षले हस्ताक्षर गरेको सहमति सार्वजनिक गरिएको छ, न कुनै बुँदामा कार्यान्वयनको छायाँ देखिएको छ ।
संविधान संशोधनलाई औपचारिक प्राथमिकता बनाउने भनिए पनि संसदमा कुनै प्रस्ताव पेश गरिएको छैन । यसले साना दलहरूलाई सरकारप्रति विमुख बनाएको छ । प्रतिनिधिसभामा दुईतिहाइ गुमाउँदै गएको सत्ता गठबन्धन राष्ट्रिय सभामा अल्पमतमा पुगेको छ। संविधान संशोधनको मुद्धामा सत्तारूढ दलहरूले न त कार्ययोजना देखाए, न सहमति कार्यान्वयन गरे। अब विधेयक पासदेखि नीति निर्णयसम्म सत्तापक्ष विपक्षीको सहयोगमा निर्भर बन्नुपर्ने अवस्थामा पुगेको छ ।
साना दल असन्तुष्ट, निर्णायक भूमिकामा
जसपा, जनमत, नागरिक उन्मुक्ति जस्ता साना दलहरू ‘साझेदारी’को भावना भन्दा ‘सत्ताको पहुँचबाट विमुखीकरण’ मा असन्तुष्ट छन् । विगतमा निर्णायक भूमिका खेलेका यी दलले अहिले सरकारप्रति विश्वास गुमाएको देखिन्छ ।
प्रतिनिधिसभामा १० भन्दा बढी साना दलका सांसद छन् जसले सरकारको दुवैतिरको सदनमा बहुमत कायम राख्न निर्णायक भूमिका खेल्थे । अहिले त्यही शक्ति उल्टिएको छ । संविधान संशोधन, नीति कार्यान्वयन, बजेट प्रक्रिया, संघीयतालाई प्रभावकारी बनाउनेजस्ता विषयमा बहस अघि बढाउनका लागि अब सत्तामा ‘संख्याको होइन, सहमतिको’ राजनीति आवश्यक देखिन्छ ।
सत्ता प्राप्तिको अंकगणितका भरमा बनेको गठबन्धन अब अस्तित्वको समीकरणमा जुधिरहेको छ । बहुमतको गणना घट्दै जाँदा, विधेयक प्रक्रिया अवरुद्ध हुँदै जाँदा र विश्वासको संकट बढ्दै जाँदा संसद फेरि अस्थिरतातर्फ मोडिन सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ साउन २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार (पूर्णपाठ)
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी