लकडाउनमा समय कटाउने मुख्य माध्यम इन्टरनेट  !

आइतबार, ३० चैत्र २०७६, ०८ : ३१
लकडाउनमा समय कटाउने मुख्य माध्यम इन्टरनेट  !

काठमाडौँ । सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेपछि प्रायः कार्यालय र व्यवसाय बन्द छन् । यही मेसोमा धेरै मानिस घरभित्रै बस्दा समय कटाउने सबैभन्दा सहज विकल्प इन्टरनेट बनेको छ । संसारभरका इन्टरनेट सेवा प्रदायकहरूले लकडाउनको समयमा आफ्नो पूर्वाधारले भ्याउनेभन्दा बढी इन्टरनेट माग बढेको बताइरहेका छन् । नेपाल पनि यो शैलीबाट अछुतो छैन ।

नेपालमा पनि लकडाउनयता इन्टरनेटको माग बढेको छ । प्रायः मानिस घरमा बस्दा भिडियो हेर्ने र गेम खेल्ने गर्दा इन्टरनेट ब्यान्डविथको माग उच्च भएको सेवा प्रदायकको विश्लेषण छ । लकडाउनको समयमा घर बसेका नेपाली के कामका लागि इन्टरनेट बढी प्रयोग गर्छन् रु इन्टरनेट सेवा प्रदायकहरूले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा सबैभन्दा बढी इन्टरनेटको प्रयोग युट्युब हेर्न भइरहेको छ ।

लकडाउनअघिको समयमा नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथको माग औसत ३ सय ३४ जीबीपीएस इन्टरनेट ब्यान्डविथ माग हुन्थ्यो । लकडाउनयता भने अन्तर्राष्ट्रिय ब्यान्डविथको माग ४ सय १८ जीबीपीएस पुगेको छ । इन्टरनेट सेवा प्रदायकहरूमा मात्रै औसत ८४ जीबीपीएसले बढेको छ । यो सामान्य अवस्थाको भन्दा २५ प्रतिशत बढी माग हो ।

आन्तरिक ब्यान्डविथतर्फ क्यास सर्भरमा भने ३५ प्रतिशत चाप बढेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आईस्पान) ले जनाएको छ । क्यास सर्भरतर्फ औसत माग ११ सय ५२ जीबीपीएसबाट बढेर १५ सय ५३ जीबीपीएस पुगेको आईस्पानले जनाएको छ । लकडाउनपछि क्यास सर्भरमा मात्रै औसत ४ सय १ जीबीपीएस माग थपिएको तथ्यांक छ । लकडाउनका बेला गुगल, फेसबुक, नेटफ्लिक्स, इन्टरनेट टीभी र भिडियो सेयरिङ एप टिकटक प्रयोगका लागि ब्यान्डविथको माग बढेको छ । युट्यबका लागि १२, फेसबुकका लागि १७, नेटफ्लिक्सका लागि शतप्रतिशत र टिकटकका लागि पनि शतप्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ माग बढेको आईस्पानको भनाइ छ ।

गुगल स्वामित्वको युट्युब, जिमेल जस्ता सेवाका लागि मात्रै १ सय ५५ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ । यो अहिले खपत भइरहेको कुल ब्यान्डविथको करिब एकतिहाइ हो । फेसबुकका लागि एक सय ५ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको सेवा प्रदायकले जनाएका छन् । लकडाउनका बेला भिडियो सामग्री दिने नेटफ्लिक्सको प्रयोग पनि बढेको तथ्यांकले देखाएको छ । नेटफ्लिक्सका लागि औसत ७ जीबीपीएस ब्यान्डविथ खपत भइरहेकोमा अहिले १३ जीबीपीएस पुगेको छ । टिकटकमा पनि औसत ७ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेकोमा अहिले १३ जीबीपीएस पुगेको छ ।

व्यावसायिक कामका लागि प्रयोग हुने क्लाउडफेयर र माइक्रोसफ्टको सेवाका लागि पनि ब्यान्डविथ खपत हुने क्रम बढ्दो छ । आईस्पानका अनुसार क्लाउडफेयरका लागि अहिले औसत ३ जीबीपीएसबाट ५ जीबीपीएस पुगेको छ । माइक्रोसफ्टको सेवाका लागि पनि यही अनुपातमा ब्यान्डविथ माग बढेको छ । व्यावसायिक कामका लागि खपत हुने ब्यान्डविथ धेरै कम भए पनि मनोरन्जनात्मक कामका लागि प्रयोग हुने ब्यान्डविथको मात्रा बढेको तथ्यांकले देखाएको छ ।

क्याससर्भरतर्फ भने नेटटीभीका लागि बढी ब्यान्डविथ माग भइरहेको छ । यसमा आन्तरिक ब्यान्डविथ २ सय ५४ बाट बढेर ३ सय ९४ जीबीपीएस पुगेको छ । गुगल र फेसबुकको सेवा प्रयोगका लागि पनि ब्यान्डविथ बढेको छ । लकडाउनसँगै आफ्नो पूर्वाधारले भ्याउनेभन्दा बढी ब्यान्डविथ माग भएपछि इन्टरनेट सेवा प्रदायकहरूले मनोरन्जनभन्दा सूचनाका लागि इन्टरनेटलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।

इन्टरनेट सेवा प्रदायकहरूले जति पनि ब्यान्डविथ खपत गर्न मिल्ने गरी अनलिमिटेड सेवा दिने भएकाले चाप बढी भएको आईस्पान अध्यक्ष भोजराज भट्ट बताउँछन् । ‘टेलिकम कम्पनीहरूले भोल्युममा आधारित सेवा दिन्छन् । तर हामी जति पनि ब्यान्डविथ प्रयोग गर्न मिल्ने गरी सेवा दिन्छौं,’ उनले भने, ‘एउटा ग्राहकले लिएको इन्टरनेट परिवारका सदस्यसहित धेरैले प्रयोग गर्ने भएकाले हामीलाई बढी चाप परेको हो ।’ कान्तिपुर दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस