लकडाउनको असर : बिक्दैछ तरकारी, सुक्दैछ पोल्ट्री

सोमबार, २४ चैत्र २०७६, १५ : ४९
लकडाउनको असर : बिक्दैछ तरकारी, सुक्दैछ पोल्ट्री

तस्विर : सूर्यप्रकाश कँडेल

- सूर्यप्रकाश कँडेल

चितवन । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभर लकडाउन घोषणा गरेको दुई साता पुगिसकेको छ । लकडाउनको कारण तरकारीको बजारमा खासै असर परेको छैन, तर पोल्ट्री क्षेत्रमा भने गम्भीर असर पुगेको पाइएको छ ।

भरतपुर महानगरपालिका २५, अमृतनगरका तरकारी उत्पादक किसान समिर भुसाल तरकारीको लागि अहिले बजारको अवस्था राम्रो रहेको बताउँछन् । लकडाउनमा पनि सरकारले तरकारी ओसार्ने गाडी चल्न दिएपछि आफूकहाँ उत्पादन भएको तरकारी काठमाडौँ, पोखरा र बुटवलसम्म बिक्री भइरहेको उनले जानकारी दिए । ‘टमाटर, खुर्सानी, काउली, बोडी, सिमीलगायतका मौसमी तरकारी जति उत्पादन भएपनि बिक्री रोकिएको छैन’ उनले भने, ‘फार्ममै आएर गाडीमा लोड गरी व्यापारीले तरकारी खरिद गरिरहेका छन् । स्थानीय बजारमा भने बिक्री घटेको छ ।’

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल चितवनमा यतिबेला मौसमी तरकारीको उत्पादन राम्रो भएको बताउँछन् । ठूला फार्म र संगठितरुपमा तरकारीखेती गर्नेहरुलाई बिक्रीको समस्या नभएको जानकारी दिँदै उनी भन्छन्, ‘थोरै उत्पादन गर्ने साना किसानलाई समस्या देखियो । स्थानीयस्तरमा बजार खोज्ने प्रयासमा छौँ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकृत माधव पौडेल तरकारीको उत्पादन राम्रो भएको तर बीउको अभाव देखा परेको बताउँछन् । खाद्यान्नतर्फ भने कृषि मजदुरको अभावमा बारीमा पाकेको गहुँ काट्न र खेतमा चैतेधान रोप्न समस्या देखा परेको उनको भनाइ छ । ‘गहुँ काट्न र धान रोप्न मधेसबाट मजदुर आउँथे, यसपालि मजदुर अभावले समस्या पारेको छ’ उनले भने ।

पोल्ट्रीमा पहिरो 

लकडाउनपछिका केही दिनयता बजारमा ब्रोइलर र लेयर्स कुखुराका लागि आवश्यक दानाको अभाव देखा परेको छ । माग अनुसार दाना नपाउँंँदा कुखुरापालक किसान मर्कामा परेका छन् । उनीहरुसँग केही दिनलाई पुग्ने दाना समेत छैन । एकातिर दानाको अभाव र अर्कोतिर चल्ला, अण्डा र मासुको बिक्री ह्वात्तै घट्दा पोल्ट्री क्षेत्रमा पहिरो गएको छ ।

भरतपुर महानगरपालिका २१ का कुखुरापालक किसान नारायण चालिसेको खोरमा पांँच हजार कुखुरा छन् । दाना सप्लायर्सले उधारोमा दाना नबेच्ने भनेपछि उनी चिन्तामा परेका छन् । आफूहरु रकम झिक्न बैंक जान सक्ने अवस्था नभएको र सप्लायर्सले उधारोमा दाना नदिँदा खोरका कुखुरा भोकभोकै मर्ने अवस्था आएको उनी बताउँछन् । यसअघि सप्लायर्सले उधारोमा दाना दिने गरेको भएपनि लकडाउनपछि नगदमा मात्र कारोबार गरेको उनको भनाइ छ । 

अण्डा उत्पादक किसान मेघबहादुर खड्का लकडाउन अघिसम्म अण्डा सप्लार्यसले उधारोमा दाना दिने र अण्डा खरिद गर्ने गरेकोमा अहिले अण्डा समेत बिक्री नभएपछि समस्या थपिएको बताउँछन् । ‘दानाको लागि नगद देऊ भन्छन्, अण्डा उधारोमा पनि बिक्री हँुदैन’ उनले गुनासो पोखे । दानाको अभाव हुन थालेपछि कुखुरालाई चाहिने दानाको परिमाण घटाउंँदै लगेको खड्काले  बताए । 

चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे कच्चापदार्थ भएसम्म दानाको अभाव नहुने दाबी गर्छन् । दाना बनाउन आवश्यक कच्चापदार्थ मकै, भटमास भारत र तेस्रो मुलुकबाट आउने गर्छ । छिमेकी देश भारत र अधिकांश तेस्रो मुलुकमा पनि लकडाउनको अवस्था भएकोले कच्चापदार्थ अभावमा दाना उत्पादन घटाउनु परेको उनको भनाइ छ ।

कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशत योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर मानिन्छ । देशभरमा पोल्ट्रीको ठूलो हिस्सा ओगटेको चितवनलाई पोल्ट्रीको राजधानी मानिन्छ । देशभर पोल्ट्री क्षेत्रमा भएको एक खर्ब २० अर्ब रुपैयाँ लगानीमध्ये ६० प्रतिशत चितवनमा छ । पोल्ट्री क्षेत्रमा एक लाख ८० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

अण्डा, चल्ला, कुखुरा र दाना खरिद बिक्री गर्ने देशभरका एक हजार पोल्ट्री सप्लायर्समध्ये दुई सय चितवनमा छन् । कुखुरापालन क्षेत्रबाट देशभर करिब दुई लाख व्यक्तिले रोजगारी पाएका छन् । पोल्ट्री व्यवसायलाई व्यवस्थित गर्न र यो व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाबीच समन्वय गर्न चितवनमा नेपाल कुखुरा व्यवसायी मञ्चको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । 

मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालका अनुसार, मञ्चमा नेपाल अण्डा उत्पादक संघ, नेपाल कुखुरा बजार व्यवस्थापन संघ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल दाना उद्योग संघ, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, कुखुरा मासु व्यवसायी संघ र चितवन नवलपुर दाना वितरक संघ आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस