काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताइन् ।
अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको उनले सन्देशमा स्पष्ट पारिन् ।
अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको उनले उल्लेख गरिन् ।
अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गरिन् ।
नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की