दाजुभाइमध्ये एकजना मात्र सभापतिको उमेदवार हुन्छौं : शशांक कोइराला

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०८२, १५ : ४७
दाजुभाइमध्ये एकजना मात्र सभापतिको उमेदवार हुन्छौं : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १५औं महाधिवेशनमा कोइराला परिवार एकठाउँ हुने संकेत गरेका छन् । 

१४औं महाधिवेशनमा कोइराला परिवारका तीनजना तीनतिर बाँडिएका थिए । डा. शेखर सभापतिको उम्मेदवार हुँदा डा. शशांक शेरबहादुर देउवाको समर्थनमा थिए भने सुजाता कोइराला प्रकाशमान सिंहको टिमबाट उपसभापति उम्मेदवार बनेकी थिइन् । 

शेखर दोस्रो भएर दोस्रो चरणमा जाँदा शशांक शेरबहादुरतिरै थिए भने प्रकाशमानसँगै सुजाताले शेरबहादुरलाई समर्थन दिएकी थिइन् । अहिले सुजाता शेखरलाई समर्थन दिँदै हप्तामा एक दिन शेखरकै सचिवालयमा उपस्थित हुने गरेकी छन् । 

मंगलबार (मंसिर १६) शशांकले पनि पुस २६ देखि २८ सम्म काठमाडौंमा हुने १५औं महाधिवेशनमा एक मात्र उमेदवार हुने संकेत गरेका छन् । तर, शशांकले भने आफू पनि सभापतिको आकांक्षी रहेकाले दाबी अझै छाडिसकेका छैनन् । 

“सभापति पदमा लड्ने भनेको छु । शेखर दाइ पनि इच्छुक हुनुहुन्छ,” शशांकले नवलपरासी जाने क्रममा चितवन विमानस्थलमा सञ्चारकर्मीसँग भने, “हामी दुईजनामध्ये एक जना लड्छौँ ।” 

शशांकले डेढ वर्षअघि नै बाह्रखरीसँगको कुराकानीमा १४औं महाधिवेशनमा छरिएका कोइराला परिवारको अवस्था १५औं महाधिवेशनमा त्यस्तै नहुने बताएका थिए । उनले आफू सभापतिको प्रचारसहित देशव्यापी भ्रमण गर्ने र नेता–कार्यकर्ताको सुझावअनुसार दाजु शेखरसँग कुराकानी गर्ने बताएका थिए ।

“शेखर दा मेरो दाजु भएकाले मैले नै कुरा गर्नेछु । मेरो पक्षमा बढी मत आउँछ भने उहाँ पछि हट्नुपर्छ, उहाँको पक्षमा बढी मत आउँछ भने म पछि हट्नेछु,” शशांकले भनेका थिए, “तर, अब हामी फरकफरक ठाउँमा हुनेछैनौँ । आमनेता कार्यकर्ताको सुझाव हामी अलगअलग लड्नुहुँदैन भन्ने छ ।” 

शशांकले पार्टीले सर्वसम्मत निर्णयबाट ल्याएको कार्यतालिका कार्यान्वयनको सुनिश्चिततामा भने समयका कारण प्रश्न रहेको बताए । “महाधिवेशनका लागि कम्तीमा पनि तीन महिना आवश्यक पर्छ,” उनले सञ्चारकर्मीसँग भनेका छन्, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” तर, हुँदैन भनेर सार्न नहुने उनको सुझाव छ । 

“सबैले अब महाधिवेशनको तयारीमा जुट्नुपर्छ,” उनले भने, “जेनजी पुस्तालाई पनि समेटेर लैजानुपर्छ । त्यसका लागि पार्टीले अहिले गरेको निर्णयले पुग्दैन भने थप निर्णय गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस