सिमानाकामा आवतजावत हुन नदिन शसस्त्र प्रहरीले निगरानी बढायो

शनिबार, १५ चैत्र २०७६, ०९ : १९
सिमानाकामा आवतजावत हुन नदिन शसस्त्र प्रहरीले निगरानी बढायो

file Photo

भैरहवा । कोरोना भाइरसका संक्रमण बढ्न नदिन नेपाल र भारत सिमा नाकामा आवतजावत ठप्प छ । दुवै देशले लकडाउन गरिएपछि सीमाक्षेत्र सिल गरेर दुवै देशका प्रहरीले उच्च निगरानीमा राखेको छ ।

भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले सीमा क्षेत्रमा २२ पिकेट र पाँच मोबाइल भ्यानले २४ सै घण्टा गस्ती गरिएको बताए ।

“सीमाक्षेत्रको अवस्था हाल अति संवेदशिल भएको छ । नेपालबाट खुला सिमाको कारण मानिसहरु भारत जान खोज्नु र भारतबाट नेपालतिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ“, सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले भने । नेपाल भारत आवतजावतलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनविना सशस्त्र प्रहरी बलले पूर्णरुपमा बन्देज लगाएको छ ।
सीमाक्षेत्र मात्र नभएर सशस्त्र प्रहरी बलले लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्नका लागि जिल्लाके बुटवल, भैरहवा, गंगोलिया,लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा समेत स्थानीय सरकारसँगको सहकार्यमा २४ सै घण्टा गस्ती गरिरहेको छ ।

जिल्लाका सरकारी अस्पताल र आइसोलेशन क्षेत्रको समेत सशस्त्र प्रहरीले सुरक्षा पैदान गरिरहेको छ । सशस्त्रले जिल्लामा रहेको आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमाक्षेत्र र बजार क्षेत्रमा प्रभावकारीरुपमा निगरानी बढाएको छ ।