ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

सफल खबर संवाददाता

आइतबार, २४ जेठ २०८३, १० : १४
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

काठमाडौँ । नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ । सिंगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै नौ ओभर दुई बलमा पूरा गरेको हो । नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । उनले २६ बलको सामना गर्दा ७ चौका र एक छक्काको मद्दतमा नटआउट ४४ रन बनाएका हुन् । रोहित पौडेलले नटआउट २० बलमा २१ रन बनाए । ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा आशिफ शेख १ रनमा आउट भए ।

टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो ।

ओमानविरुद्ध सुरुदेखि नै कसिलो बलिङ गरेको नेपालका लागि करण केसीले तीन विकेट हात पारे । चार ओभर बलिङ गर्दा एक मेडनसहित २० रन खर्चिएर केसीले तीन विकेट हात पारेका हुन् । समान चार ओभर बलिङ गरेका सन्दीप लामिछानेले १९ रन खर्चिएर दुई विकेट हात पारे भने सोमपाल कामीले चार ओभर बलिङ गर्दा दुई विकेट हात पारे । उनले एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट लिएका हुन् । नेपालका लागि साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट हात पारे ।

नेपालको कसिलो बलिङविरुद्ध संघर्ष गरेको ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए । जुबैर अल बालुशीले २२, अब्दुल जलीलले १६ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानलाई पहिलो सेमिफाइनल हराउँदै फाइनल पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

पहिलो जितसँगै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालले अब फाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । छनोट प्रतियोगिताको फाइनल सोमबार सिंगापुरमा हुँदैछ ।