काठमाडौँ । नेपाल प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले दक्षिणकाली नगरपालिका–२ विगमफाँटमा श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका ३५ वर्षीय नवीन राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले होलीका दिन ३३ वर्षीया पुष्पा राईमाथि कुटपिट गरेर हत्या गर्ने नवीनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “श्रीमती पुष्पाको कपालमा समातेर घिसारेर कुटपिट गरी हत्या गरेर सडकको किनारा झाडीमा फालेको र उक्त शव भोलिपल्ट बिहान कोठामा ल्याएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो”, उहाँले भन्नुभयो । मृतक पुष्पाको मुख र टाउकोमा चोट लागेको थियो । पक्राउ परेका राई लामो समयदेखि बङ्गुरफार्ममा काम गर्दै आएका व्यक्ति हुन् । राईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अर्काको नाममा ट्रायल दिने दुई पक्राउ
ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चावहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाषसिंह धामीलाई आज दिउँसो पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ । धामीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ फागुन २०७६, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)