हँ ! चोरी गर्ने पुरेत....??

सफल खबर संवाददाता

बुधबार, २८ फागुन २०७६, १४ : २३
हँ ! चोरी गर्ने पुरेत....??

प्रतिकात्मक फोटो

चितवन । चोरी पनि कस्ता कस्ता । विभिन प्रकृतिका चोरीका घटनाहरु भइरहेका बेला चितवनमा भने अझै नौलो प्रकारको चोरी भएको पाइएको छ । यही फागुन २३ गते भरतपुर बेलटाँडीमा भएको चोरीको घटना निक्कै नौलो र आश्चर्यजनक छ  ।  

घरमा ब्राम्हणहरुलाई सम्मान गरिन्छ । चोखो मनले पुजिन्छ । तर त्यही ब्रम्हण (पुरोहित) बोलीचालीको भाषामा पुरेतको भेष बनाएर कसैले चोरी गर्छ भने त्यसलाई के भन्ने । चितवनको बेलटाँडीस्थित मञ्जु खाँडको घरमा यस्तो आश्चर्यजनक चोरी भएको छ । 

पक्राउ पर्नेमा भारत मोतीहारी जिल्ला जागापटक ग्रामपंचायत हरिसिद्धि थाना बस्ने बर्ष १८ को नेहाल तिवारी, भारत पुर्वी चम्पारण जिल्ला संग्रामपुर थाना हरियाणपुर पोष्ट बस्ने बर्ष १९ को राजन कुमार उपाध्याय, भारत अंचल अरेराज जिल्ला दरियारपुर ग्रामपंचायत दक्षिण मजवनी बस्ने बर्ष २० को बिक्की भनिने सोनु कुमार पाण्डे,  भारत मोतीहारी जिल्लाको गोविन्दपुर थाना बस्ने बर्ष १९ को बिपुल भन्ने रितिक रोशन, भारत मोतीहारी जिल्ला पहारपुर गाउँ भान्जाछापर बर्ष २० को बिक्की कुमार गुप्ता, जिल्ला पर्सा बीरगंज १६ मा पलक ज्वेलर्स संचालन गरी बस्ने बर्ष २५ को राज कुमार गुप्ता पक्राउ परेका छन् ।  

उनीहरुको साथबाट सुनको औठी १, नथिया १, बिन्दिया १, जिउटिया ३, मंगलसुत्र १, सानो नथुनी ८, फुली १ थान समेत गरी जम्मा तौल २२.४५० ग्राम सुनको गरगहनाहरु बरामद गरिएको छ । यस्तै ४८७ ग्राम भएको चाँदीको पाउजु ४ जोर, मोबाईल २ थान समेत बरामद भएको चितवन प्रहरीले जनाएको छ । चोरीमा उनीहरुले हेक्सा व्लेड, बिभिन्न चक्कुहरु, हथौडालगायत प्रयोग गरेको र ति सामान समेत बरामद भएको छ । उनीहरुले गरगहना सहित चौधलाख सतासीहजारको चोरी गरेको जाहेरी परेको थियो ।

यसरी भएको थियो घटना 

नेहाल तिवारीको वावु पण्डित भएकोले निजले विभिन्न स्थानमा पुरोत्याई गरी आएका थिए । यसै क्रममा यस घटनाका जाहेरवाला मन्जु खाँडको समेत उनको वावुसंग चिनजान भएको थियो । पछिल्लो समयमा नेहाल तिवारी संग समेत चिनजान पाइएको छ । प्रहरीका अनुसार नेहाल तिवारीले आफुले समेत पुरोत्याईँ गर्ने भनि मन्जु खाँडलाई विश्वासमा लिए । त्यसपछि फागुन २० गते तिवारीलाई बोलाई घरमा पुजा लगाईन् । पुजा लगाउने वाहानामा स्वस्ती शान्ती गर्नु पर्छ भन्दै खाँडलाई विश्वासमा पारी घरमा सुनचाँदीको गरगहना रहने स्थानको वारेमा पुर्व जानकारी लिएको खुल्न आएको छ । 

त्यसपश्चात तिवारीले अन्य साथीहरुको सहयोगमा उक्त घरको निगरानी राखेका थिए । तर यो कुरा खाँड परिवारले पत्तो पाएन । उनीहरुले पुरेत स्वीकारेर हरेक कुराहरु खुलाए । २३ गते राती बेलुकी घरका मानिसहरु खाना खान भान्सा कोठामा गएको मौका छोपी घर भित्र पसी उनीहरुले नगद तथा धनमाल चोरी गरेको थिए ।
   
प्रहरीको अनुसन्धानमा पुरोत्यार्इँ गरी घरकोठा तथा धनमाल राख्ने ठाउँको बारेमा जानकारी लिई चोरी गर्ने गरेको भन्ने खुल्न आएको छ । मध्ये बिक्की कुमार गुप्ता मुख्य व्यक्ति रहेको, बिक्की कुमार गुप्ताले अन्यलाई मासिक तलव दिई चोरी गर्न लगाउने र चोरी गरेको धनमाल अन्यले बिक्की कुमार गुप्तालाई बुझाउने गरेका थिए । 

घटनाको जानकारी हुना साथ घटनास्थलमा प्रहरी पुगी सम्बन्धित घरधनी लगायत स्थानिय मानिसहरु संग बुझ्दा पक्राउ परेका मध्ये नेहाल तिवारी, राजन कुमार उपाध्याय, बिक्की भनिने सोनु कुमार पाण्डे, बिपुल भन्ने रितिक रोशन र बिक्की कुमार गुप्ताले चोरी गरेको भन्ने खुल्न आए पछि निजहरुलाई फागुन २४ मा पक्राउ गरिएको थियो ।  

उनीहरुले चोरी गरेको सुन बिक्की कुमार गुप्ताले लिई गई बीरगजमा सुनचाँदी पसल गरी बस्ने राज कुमार गुप्तालाई बिक्री गरेका थिए । तत्कालै चितवन प्रहरी कार्यालयबाट प्रहरी टोली बीरगंज खटी गई फागुन २५ गते पर्सा प्रहरीसंग समन्वय गरी निज बिक्की कुमार गुप्ता र राज कुमार गुप्तालाई पक्राउ गरी राज कुमार गुप्ताले खरिद गरेको मध्ये पसलाम भएको सुनचाँदीको गरगहनाहरु बरामद भएको थियो ।  उल्लेखित मानिसहरुले चितवनको अन्यत्र स्थानमा समेत धनमाल चोरी गरेको हुनसक्ने देखिकाले सो सम्वन्धमा अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ । 

पक्राउ परेका  निजहरु उपर डाँका चोरी मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको, पक्राउ परेका मध्ये चोरी कार्यमा संलग्न नेहाल तिवारी, राजन कुमार उपाध्याय, बिक्की भनिने सोनु कुमार पाण्डे, बिपुल भन्ने रितिक रोशन र बिक्की कुमार गुप्तालाई ५ बर्ष देखि १० बर्ष सम्म कैद, ५० हजार देखि १ लाख रुपैया सम्म जरिवाना हुने कानूनी व्यावस्था  छ ।  चोरीको धनमाल खरिद गर्ने राज कुमार गुप्तालाई ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाँय हुन सक्छ ।