काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित बैंकिङ कागजातहरूले उनको व्यक्तिगत, संस्थागत र व्यावसायिक खातामार्फत भएको करोडौं रुपैयाँको कारोबार भएको तथ्य देखाएको छ । तर, ती कारोबारको स्रोत, प्रयोजन र सम्बन्धबारे अझै धेरै प्रश्न अनुत्तरित छन्। कान्तिपुर दैनिकले प्रकाशित गरेका गृहमन्त्री गुरुङको वैकिङ कारोबारको फेहरिस्तले विवादमा तानिएका गुरुङलाई थप विवादित बनाउने देखिन्छ ।
खाता नम्बरमै देखिएको गैरनाफामूलक संस्थाको कारोबार
‘हामी नेपाल’ नामक संस्थाको हिमालयन बैंकस्थित खाता नं. ००६XXXXXX बाट ५३ लाख ४८ हजार रुपैयाँ जम्मा भई त्यसको ३० लाख ९४ हजार नबिल बैंकस्थित खाता नं. ०१५XXXXXX मा स्थानान्तरण गरिएको देखिन्छ। यो खातामा सन् २०२१ देखि २०२५ सम्ममा करिब २ करोड २८ लाख रुपैयाँ जम्मा भएको कागजातले देखाउँछ।
व्यक्तिगत खातामा करोडौं आवागमन
नबिल बैंकमा रहेको गुरुङको व्यक्तिगत खाता नं. ३११XXXXXX मा मे–जुन २०२१ बीच करिब ६० लाख रुपैयाँ जम्मा भएको छ, जसलाई कोभिड–१९ सहयोगसँग जोडिएको भनिएको छ। तर, यही खाताबाट ५ अगस्ट २०२१ मा २५ लाख ९० हजार रुपैयाँ ‘हामी नेपाल’कै खातामा सारिएको छ, जसले व्यक्तिगत र संस्थागत रकम मिसिएको संकेत गर्छ।
ठूलो रकम जम्मा गर्ने व्यक्तिहरू
उक्त व्यक्तिगत खातामा ९ मे २०२३ मा चाङ अग्रवालबाट २२ लाख ५० हजार र सोही दिन विजयकुमार श्रेष्ठबाट ३७ लाख ५० हजार जम्मा भएको देखिन्छ। त्यसको भोलिपल्ट, १० मे २०२३ मा यही खाताबाट लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा २५ लाख र स्टार माइक्रो इन्स्योरेन्समा २५ लाख जम्मा गरिएको छ।
ऋण, सापटी र अस्पष्ट स्रोत
१३ अक्टोबर २०२३ मा छिरिङ छोम्बेल गुरुङबाट २५ लाख ‘ऋण फिर्ता’ शीर्षकमा जम्मा भएको देखिन्छ भने अन्य धेरै कारोबारमा स्रोत खुलाइएको छैन। सञ्जय सर्भिसेज सेन्टर प्रालिबाट पनि २०२४ मा १० लाख र १२.५ लाख रकम आएको देखिन्छ।
लक्ष्मी सनराइज बैंकमा पनि ठूलो कारोबार
लक्ष्मी सनराइज बैंकको खाता नं. ०१०XXXXXX मा २०२१ देखि २०२५ सम्म १ करोड ७ लाख रुपैयाँ जम्मा भएको देखिन्छ। यस खातामा अन्जल मानन्धरको नामबाट मात्रै करिब ४० लाख नगद जम्मा भएको उल्लेख छ।
कम्पनी खातामा पनि करोडौंको ट्रान्जेक्सन
गुरुङ संलग्न कम्पनीहरू एडभेन्चर भिल्ला (खाता नं. ०३५XXXXXX) , लगुम प्रिमियम अपार्टमेन्ट (खाता नं. ०४०XXXXXX) र होप होल्डिङ्स (खाता नं. ००१XXXXXX) का खातामा पनि करोडौं रुपैयाँको कारोबार भएको देखिन्छ। विशेषगरी होप होल्डिङ्सको खातामा केही महिनामै १ करोड १९ लाख रुपैयाँ जम्मा भएको छ।
यी सबै कारोबार अध्ययन गर्दा उनी माथी थप प्रश्न उब्जेको छ । गैरनाफामूलक संस्थाको रकम किन व्यक्तिगत खातामार्फत चलाइयो ? व्यक्तिगत खातामा आएको ठूलो रकमको वास्तविक स्रोत के हो ? सेयर खरिदका लागि देखाइएको कर्जा र खातामा आएको रकमबीच के सम्बन्ध छ ? विभिन्न व्यक्तिहरूसँगको आर्थिक सम्बन्धको प्रकृति के हो ?
गृहमन्त्री गुरुङले अब थप यी प्रश्नहरुको सामना गर्नुपर्ने देखिएको छ । गत भदौं २३ र २४ को जनेजी आन्दोलनपछि एकाएक राजनीतिमा शक्तिशाली देखिएर उदाएका सुधन गुरुङ अहिले आफ्नै कारोबार, आफ्नै प्रष्टीकरण र आफैले भरेको सम्पक्ति विवरण लगायतका कारण विवादमा तानिएका छन् ।
रास्वपाले श्रम मन्त्री रहेका दिपक शाहलाई राइट टु रिकल प्रयोग गरेर विवादमा तानिएपछि पदमुक्तको निर्णय लिएको थियो । तर प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछानेसम्म प्रभाव र पहुँचका आधारमा शक्तिशाली देखिएका गृहमन्त्री गुरुङका सवालमा भने रास्वपा निरिह बनिरहेको छ ।
गृहमन्त्री गुरुङमाथी उठेका प्रश्नमा रास्वपाका नेताहरु नै तै चुप मैचुपमा बसिरहेका छन् । जसले गर्दा बलियाका लागि रास्वपाले जतिसुकै विवादमा आएपनि ठोस निर्णय लिन हिचकिचाउने गरेको तथ्य उजागर गरिदिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ बैशाख २०८३, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
ब्रिटिस गोर्खाद्वारा नागरिकता निरन्तरताको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
गृहमन्त्रीसँग चिनियाँ राजदूतको तीन चासो