काठमाडौं । मनै भाँचिएपछि जतिसुकै फकाउन खोजेपनि मान्छे हत्तपत्ति फकिदैनन् । एकपटक आफुलाई कसैले किनारा लगाई दिईसकेपछि उसलाई फेरि विश्वास गरिहाल्ने स्थिति सितिमिति बन्दैन् । तर राजनीतिमा भने यस्तो हुदैन् ।
बेलाबेला सम्बन्ध बन्ने र भत्कने क्रम चलिनै रहन्छ । तर पनि नेताहरुले विगतमा आफुलाई गर्ने गरिएको ब्यवहारलाई हेरेर अन्य नेताहरुलाई सधै शंकाको घेरामा भने राखिरहेकै हुन्छन् । अहिले नेकपाका वरिष्ठ नेता माधव नेपालको हकमा त्यही कुरा लागु हुन्छ । नेपाल स्यवंले आफुप्रति पार्टीका नेताहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गर्ने ब्यवहार सधै शंकाको दृष्टिले हेर्ने गरेको बताउँदै आएका छन् ।
पार्टी एकताका क्रममा वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री केपी ओलीले किनारा लगाउन खोजे । सक्दासम्म नेपाललाई ओलीले किनारा नै लगाईदिए । पार्टीमा जब ओलीलाई अप्ठयारो पर्दै जान थाल्यो, त्यसपछि भने उनले माधव नेपालको साथ खोज्न थाले । अहिले प्रधानमन्त्री केपी ओली र माधव नेपालको सम्बन्ध त्यस्तै मध्येको शंकाको घेरामा छ । ओली पक्ष माधव नेपाललाई फकाउने अनेक कसरतमा लागेको देखिन्छन् ।
ओलीले पार्टीमा आफुलाई अप्ठयारो परेपछि वरिष्ठ नेता नेपाललाई बोलाएर छलफल गर्ने, आफु निकट नेताहरु फकाउन पठाउने र विभिन्न प्रलोभन सम्म दिने काम नगरेका होइनन् । फागुन १४ को सचिवालय बैठकले राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त एउटा सिटका लागि उपाध्यक्ष वामदेव गौतमलाई पठाउने पार्टीको सर्वसम्मत निर्णय स्वीकार्न आनाकानी गर्न प्रधानमन्त्रीले नेता नेपाललाई फकाउन अनेक कोसिस गरे ।
उनको त्यो कोसिस अहिले पनि जारी छ । भलै, ओली मृगौला प्रत्यारोपणका कारण अस्पताल बसाईमा रहेपनि ओली निकट नेताहरुले नेपाललाई फकाउने प्रयास निरन्तर जारी नै छ । त्यस्तै एउटा कसरत भएको थियो ः बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा । तत्कालिन एमालेभित्र माधव नेपाल पक्षका विरुद्द पार्टीभित्र समानान्तर गतिविधि गर्नका लागि केपी ओली पक्षले मदन भण्डारी फाउन्डेसन खोलेका थिए ।
त्यो संंस्थाका गतिविधि हुन्थ्यो– केपी ओली पक्षको वकालत गर्ने, नेता कार्यकर्ता संगठित गर्ने र माधव नेपाल पक्षलाई कमजोर तुल्याउने । तर बिहिबारको दृश्य फरक थियो । कहिल्यै आफुलाई महत्व नदिएको र तत्कालिन एमाले छँदासम्म आफ्नो हुर्मत लिन खोलिएको सस्थाको प्रमुख अतिथि थिए, तिनै माधव नेपाल ।
मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ विषयमा त्यहाँ पुगेर नेपालले आफनो मन्तब्य दिए । उनलाई कार्यक्रममा आइदिन फाउन्डेसनका अध्यक्ष रहेकी राष्ट्रपति पुत्री उषकिरण भण्डारी आफै निम्तो गर्न पुगेकी थिइन । पार्टीका अन्य नेताहरुले पनि कार्यक्रममा जान उनलाई सुझाव दिएपछि नेपाल फाउन्डेसनको कार्यक्रममा गएको नेपाल निकट नेताहरुको भनाई छ ।
मदन भण्डारी फाउन्डेसनले आफु विरुद्द गतिविधि गर्न थालेपछि नेपाल पक्षले पनि मदन भण्डारी प्रतिष्ठान, पुष्पलाल मित्रता केन्द्र लगायतका संघ सस्था खोलेर गतिविधि गर्दै आईरहेको थियो । ओली अहिले पार्टीमा कमजोर देखिएका छन् । उनको आफ्नै कार्यशैली र ब्यवहारका कारण पार्टीमा एक्लिदै गईरहेका हुन् । ओलीको अप्ठयारो बुझेर ओली पक्षका नेताहरु अहिले पार्टीमा ओली नेपाल बीचको सम्बन्ध सुधार्ने प्रयासमा लागेका छन् । शंकर पोखरेल, खिमलाल भटटराई लगायत नेताहरु अहिले नेपाल र ओलीको सम्बन्ध मजवुत बनाउन लागिपरेका छन् ।
त्यसैको प्रयासको एउटा रिहर्सल हो, यो बिहिबारको मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रमुख अतिथिमा माधव नेपालको सहभागिता । तर माधव नेपाल निकट एक केन्द्रीय सदस्य भन्छन्,– माधव नेपाल ओलीले जतिसुकै प्रलोभनमा फकाउन खोजेपनि सजिलै फकिनेवालामा यसपटक भने देखिन्नन् । ओलीले आफु अनुकुल नेताहरुलाई प्रयोग मात्र गर्ने गरेका दर्जनौ अनुभव नेपालले गरेका कारण पनि उनी सजिल्यै ओली पक्षधरको फकाईमा नफकिने ति केन्द्रीय सदस्यले बताए ।
‘पार्टीमा नेताहरुलाई अप्ठयारो आएपछि अर्काे नेतालाई फकाउने प्रयास त निरन्तर चलि नै रहन्छ, अहिले माधव कमरेडलाई फकाउन ओली र उहाँ निकट नेताहरुको जोडवल निक्कै देखिन्छ,’ नेपाल निकट ति नेताले सफलखवरसँग भने,–‘तर माधव कमरेड सजिल्यै फकिने स्थितीमा हुनुहुन्न । उहाँ आफुनै ढंगले अगाडी बढ्ने सोचमा हुनुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल