काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सानदार जित निकालेको छ ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले कोशीलाई ६ विकेटले हरायो । जितका लागि एक सय ६३ रनको लक्ष्य पछ्याएको पुलिसले ३३.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
पुलिसको जितमा कप्तान आरिफ शेख र रसिख खानले अविजित अर्धशतकीय इनिङ्स बनाए । पाँचौँ ब्याट्सम्यानको रूपमा मैदान प्रवेश गरेका रसिदले अविजित ७३ र छैटौँ नम्बरमा प्रवेश गरेका आरिफले अविजित ८१ रन बनाए ।
रसिदले ९० बलमा आठ चौका र एक छक्का हाने । यस्तै आरिफले ७९ बलमा ११ चौका र एक छक्का हानेका थिए । पुलिसका सुरुवाती चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर दिनेश खरेल दुई रनमा आउट हुँदा अन्य तीन ब्याट्सम्यान शून्य रनमा पेभेलियन फर्किएका थिए ।
बलिङमा कोशीका विपिन महतोले दुई तथा दिपेश कँडेलले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोशीले ४२.५ ओभरका सबै विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो ।
कोशीका लागि कप्तान सुजन थपलियाले सर्वाधिक ४८ रन बनाए । यस्तै ओपनर सुमन श्रेष्ठले ४३, अंकत सुवेदीले २६ र सिवास बजगाईँले १५ रन बनाए ।
बलिङमा पुलिसका दिनेश खरेलले पाँच विकेट लिए । ललित राजवंशी र सागर ढकालले दुई–दुई विकेट लिए। जितसँगै पाँच खेलबाट सात पुलिसले अंक बनाएको पुलिस शीर्षस्थानका उक्लिएको छ ।
समान खेलबाट एक अंक बनाएको कोशी अन्तिममा छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको मधेश र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीको पनि समान सात सात अंक छ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप : दिवान पुनको कप्तानीमा कर्णाली प्रदेशको टिम घोषणा