संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : सभापति देउवा

रासस

बुधबार, २१ फागुन २०७६, २१ : १५
संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली काँग्रेसलाई मान्य नहुने बताउनुभएको छ । 

नेपाल ट्रेड युनियन काँग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको बताउनुभएको हो । “बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजेको छ, यसको विरुद्धमा काँग्रेस एकजुट हुन जरुरी छ”, उहाँले भन्नुभयो । संसद्मा प्रतिपक्षको भूमिका बलियो हुँदै गएको उहाँको भनाइ थियो । 

सभापति देउवाले पार्टीभित्रको झगडाका कारण काँग्रेस कमजोर हुँदै गएको बताउँदै पार्टीलाई बलियो बनाउन पार्टी एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन सबै नेता तथा कार्यकर्तालाई आग्रह  गर्नुभयो । 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय मुलुकमा प्रजातन्त्रमाथि चुनौती थपिँदै गएको बताउनुभयो । “सरकारले सबै शक्तिहरुलाई केन्द्रीकरण गर्दै गइरहेको छ, यसलाई रोक्न काँग्रेसले सङ्घर्ष गर्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।  

वरिष्ठ नेता पौडेलले श्रमिकको पार्टी नेपाली काँग्रेसलाई बनाए मात्र पार्टी बलियो हुने बताउनुभयो । पार्टीको आगामी महाधिवेशन समयमा सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले संविधान कम्युनिष्टका नेताको हितका लागि मात्र नभई राष्ट्रको हितका लागि ल्याएका बताउँदै संविधानको दुरुपयोग नगर्न सत्तापक्षलाई आग्रह गर्नुभयो । कानून बनाएर श्रमिकको हक अधिकारलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । 

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार र राजनीति दल मजदूरको आडमा सत्तामा पुग्ने र सत्तामा पुगेपछि मजदूर विर्सने गरेको बताउनुभयो । युनियनका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्की, अजयकुमार राईले काँग्रेसको नेतृत्वमा मजदूर आन्दोलन भए पनि पछिल्लो समय पार्टीले मजदूरलाई वेवास्था गर्दै गएको बताउनुभयो ।

विसं २००३ फागुन २१ मा नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा श्रमिकको हकअधिकारका लागि आन्दोलन भएको थियो । सोही आन्दोलनलाई नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस