विप्लव समूहका दुई नेता पक्राउ

रासस

शनिबार, १७ फागुन २०७६, २१ : ३२
विप्लव समूहका दुई नेता पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द 'विप्लव' समूहका दुई नेतालाई पक्राउ गरेको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले कालीकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुँगार घर भई हाल मध्यपुरथिमि नपा–२ बस्ने ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

भक्तपुरको फरक–फरक स्थानबाट पक्राउ परेका बोगटी र पुन चन्द समूहका भक्तपुर जिल्ला सेक्रेटरीसमेत रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका बोगटी यसअघि चन्द समूह भक्तपुर जिल्ला सेक्रेटरी रहेकै बेलामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई साङ्घातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए ।

भक्तपुरस्थित फरक–फरक ठाउँमा सरकारबाट चन्द समूहका कार्यकर्ताले शङ्कास्पद गतिविधि गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गरी उनीहरुलाई पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो । 

उनीहरुलाई फेला पारी सोधपुछ गर्ने क्रममा बोगटी र पुनले प्रहरी कर्मचारीलाई उल्टै गालीगलौज तथा अनावश्यक हैरानी दिएको जानकारी दिँदै उहाँले पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

होटल, रेष्टुरेष्टमा छापा,  १६ पक्राउ
भक्तपुरका विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरबाट यौन गतिविधि गरेको अभियोगमा प्रहरीले आज छापा मारेर १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातीको टोलीले पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरमा एकैपटक छापा मारी अनैतिक कार्य गर्दै गरेको अवस्थामा आठ पुरुष र आठ महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

जगाती क्षेत्रका होटल तथा रेष्टुरेष्टमा छाडा यौन गतिविधि भइरहेको गुनासो आएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जोशीले बताउनुभयो । अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानूनविपरीतका गलत कार्य हँुदै आएको गुनासो बढेपछि प्रहरीले छापा मारेको बताएको छ ।

नियन्त्रणमा लिएका महिला तथा पुरुषलाई प्रहरी सामाजिक मनोपरार्मशसमेत दिएको र उनीहरुलाई पहिलोपटक चेतावनी दिएर छाडिने तयारी गरेको प्रनाउ जोशीको भनाइ छ । प्रहरीले अरनिको राजमार्ग खण्डकै ठूला होटल र ठूला होटलभित्र कटेज बनाएर यौनधन्दा चलाउँदै आएका होटल रेष्टुरेष्टमा भने छापा नमार्ने गरेको गुनासो स्थानीयवासीको भनाइ छ ।