जन्मोत्सवका अवसरमा प्रधानमन्त्रीद्वारा कपडा र शैक्षिक सामग्री वितरण

रासस

आइतबार, ११ फागुन २०७६, २० : २४
जन्मोत्सवका अवसरमा प्रधानमन्त्रीद्वारा कपडा र शैक्षिक सामग्री वितरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव अवसरमा आठराई क्षेत्रका ४०० ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । आफ्नो जन्मदिन मनाउन आठराई गाउँपालिका–४ ईवामा रहेको जन्मघर आउनुभएका ओलीले आज नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गे साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शिलान्यास गर्नुभयो । 

आफ्नो ६९औँ जन्मदिन मनाउन आठराई–४ ईवामा रहेको जन्मघर आइपुगेका प्रधानमन्त्री ओलीले सो सडकखण्डको शिलान्यस गर्दै सरकार विकास निर्माणको काममा आक्रमक रुपले लागेको बताउनुभयो । आफ्नै जन्मघरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर जन्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताउनुभयो । ओलीले आफ्नै जग्गामा अनुसन्धानको प्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । त्यसका लागि आवश्यक जग्गा आफैँले उपलब्ध गराइदिने प्रधानमन्त्री ओलीको भनाइ थियो । 

उहाँले प्राविधिक शिक्षालय सञ्चालनका लागि जग्गाको अन्य कानूनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्रै काम अघि बढ्ने बताउनुभयो । “कृषि शिक्षाका लागि चाहिने आवश्यक जग्गा मैले आफैँले व्यवस्थापन गरी दिएको छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही घरमुनीको टार बारीमा कृषि शिक्षालय खोल्ने हो, त्यसका लागि मैले नै जग्गा दिने हो ।”

सबै युवालाई सस्तो ब्याजदरमा कृषि कर्जा दिएर भए पनि सरकार कृषि अभियानमा लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो । भारी नपुगेर कृषि उत्पादनले बजार नपाएको भन्दै ओलीले प्रर्याप्त मात्रामा स्कुस, बेमौषमी तरकारी, फलफल लगायतका कृषि उपज उत्पादन गर्न गाउँलेलाई आह्वान गर्नुभयो । स्कुसका लागि आफ्नो जन्म घरको गाउँको हावापानी राम्रो रहेको भन्दै प्रधानमन्त्री ओलीले स्कुस बढीभन्दा बढी उत्पादन गरेर विदेश निर्यात गर्न आह्वान गर्नुभयो ।

 बुबा मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका साथ आएका ओलीले आप्mनो जन्मघरको सिकुवाको डिलमा बसेर तस्बीर खिचाउनुभयो । बाल्यकालका केही दौँतरीसँग पनि उहाँले भलाकुसारी गर्न भ्याउनुभयो । ओलीले जन्मदिनको अवसरमा घरको आँगनमा केक काटेर बुबा मोहनप्रसाद र धर्मपत्नी राधिका शाक्यलाई खुवाउनुभयो । पत्नी राधिका शाक्यले पनि ओलीलाई केक काटेर खुवाउनुभयो । प्रधानमन्त्री ओलीले सङ्क्रान्ति बजारमा पुनःस्थापना गरिएको नेपाल बैंकको १७७औँ शाखाको पनि आज नै उद्घाटन गर्नुभयो ।