अडियो लिक गर्ने र फेसबुकमा संसदिय टोली विरुद्ध लेखेको भन्दै मिश्र र उपाध्यायलाई पक्राउ गर्न पत्राचार

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ फागुन २०७६, ०७ : १२
अडियो लिक गर्ने र फेसबुकमा संसदिय टोली विरुद्ध लेखेको भन्दै मिश्र र उपाध्यायलाई पक्राउ गर्न पत्राचार

सांकेतिक तस्बिर ।

काठमाडौँ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या गर्ने र संसदीय समितिको अपमान गरेको भन्दै दुई जनालाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेको छ ।

समितिको बिहीबारको बैठकमा नेकपाका संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर सामाजिक संजाल फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए।

उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कसले कति रकम लियो भनेर आफ्नो फेसबुक अकाउन्टमा लेखेका थिए। त्यस्तै, एउटा स्विस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएकोमा सांसदहरूले आपत्ति जनाएका थिए।

निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो रेकर्ड गरी सार्वजनिक गरेका मिश्रले समितिले जर्मन कम्पनीलाई सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्न दिन लागिएको थियो भनेर बोलेकोमा पनि पक्राउ गरी अनुसन्धान गर्न भनिएको हो।

समिति सभापति भरतकुमार शाहले संसदीय समिति र सांसदहरूकोको अपमान भएकाले उपाध्याय र मिश्रलाई कारबाही गर्न चिठी लेख्‍न निर्देशन दिएका थिए। समितिको बिहीबार बसेको बैठकले प्रभातकिशोर उपाध्याय र विजयप्रकाश मिश्रलाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको हो। कान्तिपुर दैनिकमा  खबर छ । 

प्रतिक्रिया दिनुहोस