सरकार जनताको अधिकार खोसेर अधिनायकवादको बाटोमा : कांग्रेस सभापति देउवा

पत्रपत्रिकाबाट

आइतबार, १९ माघ २०७६, ०७ : १०
सरकार जनताको अधिकार खोसेर अधिनायकवादको बाटोमा : कांग्रेस सभापति देउवा

बुटवल । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोसेर अधिनायकवादको बाटोमा अगाडि बढेको बताएका छन् । प्रेस स्वतन्त्रता तथा मानवअधिकार माथि नै प्रहार गरेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको उनले दाबी गरे ।

कांग्रेस प्रदेश ५ को संसदीय दलका स्वर्गीय नेता बलदेव शर्मा पोखरेलको १३ औं दिनको तिथिमा शनिबार रुपन्देहीको तिलोत्तमा आएका देउवाले दुई तिहाइको बलमा जनताको अधिकार खोसेर तथा लोकतन्त्रको मुल्य र मर्ममाथि नै प्रहार गर्ने गरी विधेयकहरु ल्याएको बताए।

‘अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी ल्याइएको मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन छ,’ उनले भने, ‘कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध प्रजातान्त्रिक शक्तिहरु एक भएर अगाडि बढनु पर्छ।’शोक सभामा पार्टीका महामन्त्री शशांक कोइरालाले लोकतन्त्र र नागरीक सुरक्षाका लागि कांग्रेस सधैं अगाडि रहने बताए।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कम्युनिस्ट सरकारले अहिलेसम्म अन्तरमनबाट लोकतान्त्रिक संविधानलाइ नै स्वीकार गर्न नसकेको बताए। ‘दुई तिहाइको बलमा आफना नेता कार्यकतालाई बलियो बनाउने काममा मात्रै सरकार लागेको छ,’ उनले भने, ‘ तर देश र जनताको हितमा कुनैपनि काम गर्न सकेको छैन।’ नेपाली कांग्रेसको प्रदेश नम्बर ५ को संसदीय दलका नेता बलदेव शर्मा पोख्रेलको ८२ वर्षको उमेरमा माघ ६ गते निधन भएको थियो। कान्तिपुर दैनिकमा खबर छ ।