कामको प्रचार हुन नसक्दा आलोचना भयो : सञ्चारमन्त्री बाँस्कोटा

रासस

शनिबार, १८ माघ २०७६, १९ : ५२
कामको प्रचार हुन नसक्दा आलोचना भयो : सञ्चारमन्त्री बाँस्कोटा

फाईल फोटो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका  कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताउनुभएको छ । राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि  सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी  गर्दै  उहाँले बैठकमा स्वभााविकरुपमा सरकारको राम्रो कुरा मात्र आउँदैन कमजोरी कुरा पनि केलाइने भएकाले आलोचना भएको हो भन्नुभयो । “सरकारको आलोचना केही साथीले गर्नुभएको छ । कम्युनिष्ट पार्टीमा आलोचना हुनु स्वाभिक हो । कतिपय थाहा नभएर, कतिपय बुझेर र कतिपय गर्ने पर्ने कारणले आलोचना भएको हो”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीले सरकारले गरेका उपलब्धिलाई प्रचार गर्न नसकेर आलोचना भएको हो ।”

नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री बाँस्कोटाले बैठकमा सरकारले गरेका निकै राम्रा उल्लेखित कार्यलाई संलेषित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सरकारका कामलाई पार्टी पङ्क्तिले सतही आधारमा विश्लेषण नगरी गम्भीर ढङ्गले अध्ययन गर्नुपर्छ भन्नुभयो  । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार अहिले मुलुकलाई आधार विन्दुबाट उठेर क्रमशः परिमाण देखिने विन्दुमा आउन थालेको जानकारी दिनुभयो ।  
    उहाँले  भन्नुभयो, “पार्टीको एकता जुन उचाइ र गहिराइबाट भएको छ  । यसले पार्टीको मूलमर्म, भावना, गति र युगीन चुनौतीलाई कार्यभार पूरा गर्ने छ । ”  “पार्टी कसैलाई रहर लागेर बनेको होइन । विभिन्न टुटफुट र विभाजनको अवस्थाबाट बनेका हो”, उहाँले भन्नुभयो, “त्यसैले केन्द्रीय कमिटी बैठकमा विभिन्न विचार आउँछन् । त्यसलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस