प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव

सफल खबर संवाददाता

विहीबार, २४ बैशाख २०८३, १२ : ४०
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संविधान संशोधनको सन्दर्भ उठिरहेका बेला संघीय संरचना र निर्वाचन प्रणालीमा व्यापक पुनरावलोकन आवश्यक रहेको धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो मत व्यक्त गर्दै उनले हाल कायम प्रदेश संरचना आवश्यक नभएको संकेत गरेका छन् । उनका अनुसार शासन व्यवस्थालाई केन्द्र र स्थानीय तहमा सीमित गर्ने विषयमा बहस हुनुपर्ने आवश्यकता देखिएको छ । जिल्ला समन्वय समिति पनि औचित्यहीन भइसकेको उनको भनाइ छ ।

बास्कोटाले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता खारेजको पक्षमा आवाज उठाएको प्रसंग उल्लेख गर्दै संविधान संशोधन भए शासन संरचनालाई थप संक्षिप्त र कार्यमुखी बनाइनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले राष्ट्रिय सभाको संरचनामा पनि परिवर्तन प्रस्ताव गरेका छन् । उनका अनुसार राष्ट्रिय सभा १०५ सदस्यीय हुनुपर्ने तथा समावेशीतालाई पूर्ण रूपमा सुनिश्चित गरिनुपर्ने व्यवस्था आवश्यक छ । महिला र पुरुषको प्रतिनिधित्व समान आधारमा कायम गरिनुपर्ने तथा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी दिने व्यवस्था उपयुक्त हुने उनको तर्क छ ।

त्यस्तै, प्रतिनिधिसभामा कायम समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ । प्रत्यक्ष निर्वाचनतर्फ महिला र पुरुष उम्मेदवारीको अनुपात क्रमशः ६० र ४० प्रतिशत अनिवार्य बनाउनुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस