बेल्जियमकी महारानीलाई भरतपुरमा स्वागत गर्न आतुर छौँ : मेयर दाहाल

सूर्यप्रकाश कँडेल

शनिबार, ०४ माघ २०७६, १६ : ०५
बेल्जियमकी महारानीलाई भरतपुरमा स्वागत गर्न आतुर छौँ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले दुई दिनपछि नेपाल आउन लागेकी बेल्जियमकी महारानीलाई भरतपुरमा स्वागत गर्न आफू आतुर रहेको बताएकी छिन् । भरतपुर महानगरपालिकाको सभाकक्षमा शनिबार आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

मेयर दाहाल केही साताअघि बेल्जियम भ्रमणमा गएका बेला भरतपुर भ्रमणको निम्तो पाएको एनआरएनए बेल्जियमका पदाधिकारीसहितको पाहुना टोलीलाई शनिबार भरतपुरमा स्वागत गर्न आयोजित कार्यक्रममा मेयर दाहालले बेल्जियमकी महारानीको भरतपुर भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको समेत बताइन् । "बेल्जियमकी महारानीलाई भरतपुरमा स्वागत गर्न आतुर छौँ" मेयर दाहालले भनिन्, "बेल्जियमकी महारानीको भरतपुर भ्रमणलाई हामीले महत्वपूर्ण रुपमा लिएका छौँ ।"

शनिबार भरतपुर आइपुगेका बेल्जियमका स्वयंसेवक १२ जना र एनआरएनए बेल्जियमका ३ जना गरी १५ जनाको टोलीलाई स्वागत गर्दै मेयर दाहालले भनिन्, "देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिकामा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग लगायतका क्षेत्रमा विकासका लागि काम गरिरहेका छौँ ।" उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न बेल्जियमको टोलीलाई आग्रह समेत गरिन् ।

एनआरएनए बेल्जियमका सहकोषाध्यक्ष लोकप्रसाद दाहालले दुई दिनपछि बेल्जियमकी महारानीले नेपाल भ्रमण गर्न लागेको जानकारी दिँदै भने, "मेयर रेनु दाहाल बेल्जियम आउँदा हामीलाई भरतपुर आउन निम्तो दिनु भएको थियो । भरतपुर साँच्चै सुन्दर रहेछ । भरतपुरका लागि केही परियोजना अगाडि सारेका छौँ ।" आगामी दिनमा ती परियोजना भरतपुरले पाउने उनको भनाइ थियो ।

बेल्जियमबाट आएको टोलीका नेता डा. लुक बेकोर्टले भरतपुर भ्रमणको निम्तोका लागि मेयर दाहाललाई धन्यवाद दिए । उनले स्वास्थ्य क्षेत्रमा आफूहरुको संस्था पिपुल टु पिपुलले सहयोग गर्न चाहेको बताए । डा. बेकोर्टको टोली भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न स्वयंसेवकको रुपमा धादिङ आएको बेला भरतपुर आइपुगेको हो ।

बेल्जियम टोलीको स्वागतमा भरतपुर महानगरमा आयोजित कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, आर्किटेक्ट अस्मिता खनाल लगायतले भरतपुर महानगरको परिचय प्रस्तुत गरेका थिए । टोलीका सहभागीलाई मेयर दाहालले ढाकाटोपी लगाइदिएर सम्मान व्यक्त गरेकी थिइन् । स्वागत कार्यक्रम मेयर दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

दुई अस्पतालको भ्रमण

भरतपुर आइपुगेको बेल्जियमको टोलीले शनिबार नै भरतपुरमा रहेका बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालको अवलोकन गरेको छ । दुई अस्पतालको अवलोकनपछि विदेशी टोलीले ती अस्पतालमा अत्याधुनिक शैया सहयोग गर्न इच्छा व्यक्त गरेको छ ।

टोली नेता डा. बेकोर्टले पिपुल टु पिपुल संस्थामा रहेका चार सय अत्याधुनिक शैया सहयोग गर्न चाहेको बताए । उनका अनुसार सहयोग गर्न खोजिएको अत्याधुनिक शैया एउटाको मूल्य १५ लाख रुपैयाँ पर्छ । एउटा शैयाको तौल नै डेढ क्वीण्टल रहेको उनले बताए । आफूहरुले सहयोग गर्न चाहेको अत्याधुनिक शैया नेपाल ल्याउँदा लाग्ने खर्च भने अस्पतालले नै बेहोर्नु पर्ने उनले स्पष्ट पारे ।

"हामीसँग चार सय वटा अत्याधुनिक शैया छन्" उनले भने, "यहाँका अस्पतालले आफ्नै ढुवानी खर्चमा कति ल्याउन चाहन्छन्, त्यति दिन्छौँ ।" आफूहरु भरतपुर आउनुको एउटा उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुगोस् भन्ने पनि रहेको डा. बेकोर्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस