बाबुरामको पछि लाग्दा उपेन्द्रलाई आपत

सफल खबर संवाददाता

आइतबार, २७ पुस २०७६, १२ : ५८
बाबुरामको पछि लाग्दा उपेन्द्रलाई आपत

काठमाडौं । पूर्वमाओवादी नेता डा बाबुराम भट्टराईको लहलहैमा लाग्दा संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई यतिखेर आपत आइपरेको छ । सत्ताबाट बाहिरिएका यादवलाई राष्ट्रिय रुपमाभन्दा पनि प्रदेशगत रुपमा समस्या चुलिएको छ ।

पछिल्ला दिनमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अर्को क्षेत्रीय दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग सहकार्य गरेपछि प्रदेश नं २ को सरकार समेत तलमाथि पर्ने अनुमानहरु सार्वजनिक भएका छन् । सोही कारण उपेन्द्रलाई सिंहदरबारको सत्ताभन्दा जनकपुरको सत्ताले सबैभन्दा बढी दुःखित बनाएको छ ।

छदा खाँदाको माओवादी मक्किएको घर भन्दै छाडेर हिँडेका बाबुराम दक्षिणको डिजाइनमा नयाँ शक्तिको जामा लगाएर आएका थिए । नयाँ शक्ति बनाएको र त्यसमा सहभागी भएका सबै नेता तथा कार्यकर्ता पूरानै मूल घरमा फर्केपछि जोइपोईमात्रै बाँकी भएपछि बाबुरामले पछिल्ला दिनमा उपेन्द्र मार्फत वैतरणी तर्न खोजेका छन् । 

तिनै बाबुराम भट्टराईले आफू पनि गरिखाने भएनन्, अरुलाई पनि खान दिने भएनन् भन्दै उपेन्द्र यादवले दुःखेसो गर्ने गरेका छन् । दक्षिणको डिजाइनमा राम्रैगरी काम गर्ने ल्याकत राख्ने भट्टराईले गरिखान नदिने भए भन्दै उपेन्द्रले उनकै निर्देशकहरुसँग पनि गुनासो गरेको उच्च स्रोतले जनाएको छ ।

सिंहदरबारको कुर्सी छाड भने मैले मानँे, जे जे भन्यो त्यही त्यही गरेँ, तर मधेस जहाँ हाम्रो राजनीतिक रुपमा अगाडि छौं, त्यही सत्ता समेत अब जाने भयो भन्दै उपेन्द्रले दक्षिणका दूतहरुसँग बाबुरामविरुद्ध पोल लगाएको र बाबुराम आफूलाई घाँडो भएको बताएका छन् । 

बाबुरामका कारण समस्यामा परेँ तिमीहरुले किन मलाइ टाँसो लगाइदिएको भन्दै उपेन्द्रले दिल्लीका केही राजनीतिक र खुफिया एजेन्सीका मान्छे सामु गुनासो गरेका छन् । मलाइ त जहाँ पनि समस्यामा पारे, किन यो मान्छे मसँग भिडाएको, यसलाई हटाइदिनु प¥यो भन्दै उनले बाबुरामको नाम लिएर वा नलिएरै पनि गुनासो गरेको बताइएको छ ।

पछिल्लो पटक  प्रदेश २ मा मुख्यमन्त्री र राजनीतिक समीकरण परिवर्तनको तयारी शुरु भएको छ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग राष्ट्रिय सभाको निर्वाचनका लागि दुई बुँदाको सहमति गरेको राजपाले प्रदेश २ मा पनि समीकरण परिवर्तन गर्न दवाव दिइरहेको स्रोतले जनाएको छ । यदि उपेन्द्रले भनेको र राजपाले दिएको दबावले साकार रुप लिए केही दिनभित्रै प्रदेश नं २ को सरकारबाट पनि उपेन्द्र यादवहरुले हात धुनुपर्ने अवस्थाको सिर्जना हुनेछ ।  

राजपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्न कठिनाइ रहेको बताउन थालेको छ । सत्तारुमा रहेका बेला समाजवादी पार्टीले राजपालाई धेरै महत्व दिएको थिएन । समाजवादी पार्टीको सोही अहंकारका कारण राजपाले नेकपासँग सहमति गरेको राजनीति बजारमा चर्चा शुरु भएको छ ।

सोही सहमतिलाई आधार बनाउँदै राजपाले नेकपालाई प्रदेश २ मा सरकार परिवर्तनको दवाव दिएको जानकारहरु बताउँछन् । राजपाले समाजवादी पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका लालबाबु राउतलाई हटाएर राजपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने तयारीमा लागेको बताइन्छ ।  नेकपाले राजपासँग सत्ता समीकरण भयो भने मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान राखेको छ । यदि त्यस्तो भयो भने उपेन्द्रको सत्ता सिंहदरबाट मात्रै नभई जनकपुरबाट समेत खोसिनेछ । 

प्रतिक्रिया दिनुहोस