कालगतिले गैंडा मर्ने क्रम बढ्दो, ६ महिनामै ९ को मृत्यु

पत्रपत्रिकाबाट

आइतबार, २७ पुस २०७६, ०७ : ०८
कालगतिले गैंडा मर्ने क्रम बढ्दो, ६ महिनामै ९ को मृत्यु

file photo

चितवन । कालगतिले गैंडा मर्ने क्रम यो वर्ष पनि कम हुने छाँट देखिएको छैन । चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिक घटगाइ लामिताले क्षेत्रमा एउटा अन्दाजी १५/२० वर्षको पोथी गैंडा मृत फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गोपालबहादुर अधिकारीका अनुसार शुक्रबार मृत गैंडा फेला परेको हो। गैंडाको अवस्था हेर्दा १०/१५ दिनअघि मरेकोझैं देखिने उनले बताए।निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा साउनयता ७ गैंडा मरेका छन्। चितवनको राष्ट्रिय वन क्षेत्रमा दुई गैंडा मृत फेला परेका छन्।

सबै गैंडाको खाग र खुर सुरक्षित भेटिएका कारण चोरी सिकारीले नभएर कालगति, घाउ चोट वा अन्य दुर्घटनामा परेर गैंडा मरेको निकुञ्जका अधिकारीहरुको भनाइ छ। अघिल्लो वर्ष सर्वाधिक ४३ गैंडा मरेका थिए।चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत गर्ने नवलपुरको रतौल गाउँको तोरीबारीमा एउटा गैंडा मृत फेला परेको थियो।

करेन्ट लागेर मरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको सूचना अधिकारी घिमिरेले बताए। एकपछि अर्को मृत गैंडा फेला परेपनि अघिल्लो वर्षको जस्तो चिन्ताजनक अवस्था नरहेको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट प्राप्त विवरण अनुसार अघिल्लो वर्ष साउनदेखि पुससम्म निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा २२ तथा चितवनको राष्ट्रिय वन क्षेत्रमा एउटा गरेर २३ गैंडा मरेका थिए। यो वर्ष टिकौली नजिक बरण्डाभार जंगल र पञ्चकन्या सामुदायिक वन क्षेत्रमा गरेर चितवनको राष्ट्रिय वन क्षेत्रभित्र दुईवटा गैंडा मृत फेला परेका छन्।

भरतपुरमा रहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार झण्डै अढाई महिनाअघि एउटा र २२ दिनअघि एउटा गरेर दुईवटा भाले गैंडा राष्ट्रिय वन क्षेत्रमा मृत भेटिएका हुन्। ‘अढाइ महिनाअघि भेटिएको गैंडा निकै अशक्त र बुढो थियो। शरीरमा घाउ चोट पनि थियो। हामीले दुई दिन उपाचार गरे पनि बँचेन’ डिभिजन वन कार्यालयका प्रमुख पौडेलले भने।

त्यसपछि २०/२२ दिनअघि मृत फेला परेको गैंडाको फियो सुन्निएको अवस्थामा रहेका कारण आन्तरिक रुपमा कुनै संक्रमण भएको आशंका उठेको उनले बताए। ‘कुनै गम्भीर संक्रमण पो भयो कि भनेर भिसेर परीक्षणका लागि पठाएको छ। त्यसको रिपोर्ट आइसकेको छैन,’ वन कार्यालय प्रमुख पौडेलले भने। चिसो बढ्दै जाँदा बृद्ध अवस्थामा पुगेका गैंडाहरु धेरै मर्ने सम्भावना रहेको पनि उनको भनाइ छ। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस