परियत्ति शिक्षाका लागि काठमाडौँ महानगरबाट २३ लाखको अनुदान

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, २० : २६
परियत्ति शिक्षाका लागि काठमाडौँ महानगरबाट २३ लाखको अनुदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षाका लागि आर्थिक सहयोग गरेको छ । सो शिक्षाका लागि पाठ्यसामग्री छपाई, दिक्षान्त समारोह, नैतिक आचरण शिक्षाका लागि गरिने विभिन्न कार्यक्रमलगायतका शिर्षकमा खर्च गर्नेगरी महानगरपालिकाले २३ लाख ६५ हजार आर्थिक सहयोग गरेको हो । 

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज सो रकमको चेक हन्तान्तरण गर्दै बौद्ध परियत्ति शिक्षाका लागि आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षका लागि महानगर क्षेत्र भित्रका सामूदायिक विद्यालयको स्तरोन्नतिका लागि मात्रै १३ करोड बजेट विनियोजन गरेको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘सामूदायिक विद्यालय हाताभित्र वृक्षारोपण गर्ने, खेल मैदान निर्माण गर्ने, रंगरोगन गर्ने, सौचालय र खानेपानीको व्यवस्थापन गर्नेलगायतमा सो रकम खर्च गरिने छ ।’ 

मेयर शाक्यले सामूदायिक विद्यालयको स्तरोन्नतिका लागि महानगरपालिकाले विभिन्न योजना बनाएसँगै नेपाल बौद्ध परियत्ति शिक्षाका लागि पनि यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले महानगरपालिकाले गरेको आर्थिक सहयोगको सदुपयोग हुनेमा आफू आशावादी रहेको पनि प्रष्ट पार्नुभयो । ‘नेपाललाई गौतमबुद्ध र सगरमाथाको देश भनेर विश्वभरी चिनिन्छ । यसरी विश्वभरी नै नेपाल चिनाउने गौतमबुद्धको उपदेश सिकाउनका लागि अर्थात् असल आचरणसहितको शिक्षा दिने हेतुले स्थापना भएको  नेपाल बौद्ध परियत्ति शिक्षाका लागि हामीले गरेको यो सहयोग सानो हो,’ शाक्यले भन्नुभयो, ‘करीब ५६ वर्षको इतिहास बोकेको यो संस्थाको विकासका लागि आगामी दिनमा पनि थप सहयोग गर्न महानगरपालिका तयार छ ।’ 

मेयर शाक्यले महानगरपालिका संस्कृति, सम्पदा र परम्पराको जगेर्नामा पनि उत्तिकै लागेको दाबी गर्नुभयो । ‘काठमाडौँ महानगर क्षेत्र भित्र रहेका मठ–मन्दिर, चैत्य, गुम्बा, विहार, महाविहारको निर्माण–पुर्ननिर्माणमा पनि महानरपालिका उत्तिकै दत्तचित्त भएर लागेको छ,’ उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमा महानर क्षेत्र भित्रका अधिकांश सम्पदा पुर्ननिर्माण भै सक्नेछन् ।’ 

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष समेत रहनु भएका नेपाल बौद्ध परियत्ति शिक्षाका शिक्षाध्यक्ष भिक्षु मैत्री महास्थविरले महानगरपालिकाले गरेको आर्थिक सहयोग सरकारी तहबाट अहिलेसम्म प्राप्त भएको सबै ठूलो राशीको भएको भन्दै परियत्ति शिक्षाका लागि थप ऊर्जा प्राप्त भएको बताउनुभयो । ‘स्थापनाको करीब ५६ वर्षपछि हामीलाई काठमाडौँ महानगरपालिकाले यति ठूलो आर्थिक सहयोग गरेर हामीलाई निकै ठूलो गुण लगाएको छ,’ महास्थविरले भन्नुभयो, ‘यो आर्थिक सहयोगले महानगरपालिका क्षेत्र भित्र रहेका २० ओटा केन्द्र मात्र होइन मुलुकभरी नै रहेका हाम्रा १ सय १५ बढी  केन्द्रमै परियत्ति शिक्षालाई थप प्रभावकारी बनाउन लाग्ने छौँ ।’ उहाँले हरेक वर्ष परियत्ति शिक्षाका लागि पाँच हजार बढीले आवेदन दिने गरेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस