मन्त्री गौतम र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

सफल खबर संवाददाता

शुक्रबार, ११ बैशाख २०८३, २१ : ०३
मन्त्री गौतम र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। 

भेटका क्रममा राजदूत माओमिङले मन्त्री गौतमलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भेटमा नेपाल सरकारको प्राथमिकतामा रहेका सुशासन प्रवर्द्धन, सामाजिक-आर्थिक विकास, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहका विषयमा छलफल भएको मन्त्री गौतमले जानकारी दिएकी छन्।

त्यस अवसरमा नेपाल-चीनबीचको ऐतिहासिक मित्रता र आपसी साझेदारीलाई थप सुदृढ बनाउँदै लगानी, पर्यटन तथा कानुन र न्याय क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक संवाद भएको बताइएको छ।

दुवै पक्षबीच विशेषगरी न्याय प्रणालीमा डिजिटल प्रविधिको प्रयोगमार्फत पहुँच सहज बनाउने, ज्ञान आदानप्रदान गर्ने तथा विधिको शासन सुदृढ गर्ने दिशामा सहकार्य बढाउने समझदारी बनेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस