अतिक्रमित भूमि फिर्ता ल्याउन युवा विद्यार्थी एकजुट हुनुपर्छ : नेकपा प्रवक्ता श्रेष्ठ

रासस

बुधबार, १६ पुस २०७६, १७ : ३५
अतिक्रमित भूमि फिर्ता ल्याउन युवा विद्यार्थी एकजुट हुनुपर्छ : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताउनुभएको छ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको सप्ताहव्यापी रचनात्मक कार्यक्रमको समापन समारोहमा उहाँले राष्ट्रलाई सङ्कट पर्दा युवा विद्यार्थीले खेलेको भूमिकालाई सधैँ स्मरण गर्नुपर्ने बताउनुभयो ।

युवा, विद्यार्थीकै कारण ठूलाठूला आन्दोलनले सफलता पाएको भन्दै भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई फिर्ता ल्याउन फेरि युवा विद्यार्थी एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो  । “लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत विभिन्न क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सबै नेपाली जुट्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “स्वाभिमानी पुर्खाको विरासतलाई जोगाइराख्न अहिलेको पुस्ता गम्भीर बन्नु जरुरी छ ।” 

उहाँले अहिले शक्ति सम्पन्न राष्ट्रका रुपमा स्थापित केही राष्ट्र तत्कालीन समयमा अन्य राष्ट्रको उपनिवेशमा रहँदासमेत नेपाल स्वतन्त्र रहेको स्मरण गराउनुभयो । राष्ट्रियता कमजोर हुने सवालमा नेपालीले कसैसँग पनि सम्झौता नगर्ने उहाँले जिकिर गर्नुभयो । श्रेष्ठले वर्तमान सरकारले औपचारिकरुपमा भारतलाई पत्र लेखी अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा पहलकदमी अघि बढाएकाले समाधान निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।
 
दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकार सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणको अभियानमा लागेको बताउँदै उहाँले कृषि, पर्यटन र जलविद्युत्का माध्यमबाट समृद्धिको अभियानले सार्थकता पाउने धारणा राख्नुभयो । उहाँले वर्तमान सरकारले  नागरिकले अनुभूति गर्ने ढङ्गले विकास निर्माणका कार्यलाई सम्पन्न गर्ने बताउनुभयो । “निरङ्कुश राज्य व्यवस्थाका कारण नागरिकले धेरै दुःख पाए”, उहाँले भन्नुभयो, “स्थायी सरकारको काँधमा विकास गरेर प्रमाणित गर्ने जिम्मेवारी आइलागेको छ ।” उहाँले व्यावसायिक र प्राविधिक शिक्षाले बेरोजगारी समस्या हल हुने भन्दै शैक्षिक गुणस्तरका विषयमा आफूले शिक्षामन्त्रीसँग पटकपटक बहस गर्ने गरेको बताउनुभयो ।  

स्ववियुले आरआर क्याम्पसमा लामो समय प्राध्यापन गराई हालसालै कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद विद्या भट्टराईलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका श्रेष्ठले भट्टराईलाई सम्मान पत्रबाट सम्मानित गर्नुभयो । स्ववियुले सप्ताहव्यापी रचनात्मक कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कृत गरेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस