फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’

सफल खबर संवाददाता

आइतबार, २४ जेठ २०८३, १० : ५५
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिधै सन्देश पठाएको विषय चर्चामै रहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

शनिबार राति फेसबुकमार्फत शाहले रोमन नेपालीमा ‘मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुस् न ।’ लेखेका छन् । उक्त अभिव्यक्तिलाई पछिल्लो राजदूत नियुक्तिसम्बन्धी विवाद र सचिव पुष्कर प्रकरणसँग जोडेर हेरिएको छ ।

शाहले आफ्नो स्टाटसमा कुनै व्यक्ति वा घटनाको नाम उल्लेख गरेका छैनन् । तर, सचिव पुष्करले राजदूत पदका लागि आवेदन दिएको जानकारी गराउँदै प्रधानमन्त्रीसँग सहयोग र मार्गदर्शन मागेको सन्देश सार्वजनिक भएपछि आएको यो टिप्पणीलाई त्यसै घटनाको सन्दर्भमा गरिएको व्यङ्ग्यका रूपमा सामाजिक सञ्जालमा व्याख्या गरिएको छ ।

सचिव पुष्करले आगामी असार २४ गते अनिवार्य अवकाशमा जान लागेकाले राजदूत पदका लागि आफूले आवेदन दिएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सन्देश पठाएका थिए । उक्त विषय सार्वजनिक भएपछि उनीमाथि प्रहरीबाट सोधपुछ गरिएको थियो ।

शाहको पोस्टमा सरकारका शिक्षामन्त्री सस्मित पोखरेलले ‘म्यासेज गर्दिम ?’ भन्दै प्रतिक्रिया जनाएका छन् । त्यस्तै भिक्टर पौडेलले ‘नाइँ, फेरि उठाउन आउला पुलिस’ लेख्दै थप व्यङ्ग्य गरेका छन् । रास्वपा सांसद रञ्जु दर्शनाले ‘पीएम पनि, एम्बास्डर पनि बन्न पाइँदैन, एउटा चूज गर्नुस् पहिला’ भन्दै प्रतिक्रिया दिएकी छन् ।

शाहको स्टाटस र त्यसमा आएका प्रतिक्रियाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । कतिपय प्रयोगकर्ताले यसलाई सचिव पुष्कर प्रकरणमाथिको व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन् भने केहीले सरकार प्रमुख तथा मन्त्री पदमा रहेका व्यक्तिहरूबाट यस्ता अभिव्यक्ति आउनु उपयुक्त नहुने टिप्पणी गरेका छन् ।