युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, २२ जेठ २०८३, ११ : १८
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव

युक्रेनी  । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि प्रत्यक्ष (फेस-टु-फेस) वार्ताको प्रस्ताव गरेका छन् ।

 युरोपमा भइरहेको युद्धलाई अमेरिकाले पुनः ध्यान नदिएसम्म पर्खेर बस्नु गलत हुने भन्दै जेलन्स्कीले युक्रेन र रुसबीचको सिधा संवादबाट मात्रै शान्ति सम्भव हुने उल्लेख गरेका छन् । 

जेलन्स्कीले वार्ता अवधिभर पूर्ण युद्धविरामको आह्वान समेत गरेका छन् । आफ्नो पत्रमा केही आक्रामक र व्यङ्ग्यात्मक शैली अपनाउँदै उनले २६ वर्षदेखि सत्तामा रहेका पुटिनमाथि 'उमेरको प्रभाव' देखिन थालेको टिप्पणी समेत गरेका छन् । अमेरिका हाल इरानको मुद्दामा केन्द्रित रहेकाले युक्रेन आफैँले पहल गर्नुपर्ने जेलन्स्कीको तर्क छ।
यता रुसी राष्ट्रपति पुटिनले भने आफू सम्झौताका लागि तयार रहेको तर त्यसका लागि युक्रेनले डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया जस्ता आंशिक कब्जा गरिएका क्षेत्रहरू छोड्नुपर्ने र नेटोमा आबद्ध हुने प्रयास त्याग्नुपर्ने अडान दोहोर्‍याएका छन् । पुटिनले जेलन्स्कीको वैधानिकतामाथि समेत प्रश्न उठाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दुई नेताबीचको भेटघाटको प्रस्तावलाई 'उत्कृष्ट' भन्दै समर्थन गरेका छन् । जेलन्स्कीले वार्ताका लागि स्विजरल्याण्ड वा टर्की जस्ता देशहरू उपयुक्त हुने प्रस्ताव गरेका छन् । युक्रेनी विदेश मन्त्रालयले यो पत्र युद्ध रोक्ने एक गम्भीर र अर्थपूर्ण कदम भएको दाबी गरेको छ। रुसी प्रशासन क्रेमलिनले पत्र प्राप्त भएको र पुटिनलाई यसबारे जानकारी गराइने बताएको छ।