ल्होसार पर्वको छुट्टै मौलिक सांस्कृतिक महत्व छ : प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, ०८ : ५०
ल्होसार पर्वको छुट्टै मौलिक सांस्कृतिक महत्व छ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार÷ल्होसार पर्वको छुट्टै मौलिक सांस्कृतिक महत्व रहेको बताएका छन् । तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार÷ल्होसार–२०७६ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् ।

‘पुरानो वर्ग (वर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको छ’ प्रचण्डले वक्तव्यमा भनेका छन्,– ‘सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् ।’

उनले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नती र समृद्धि निर्भर रहेको हुन्छ भन्दै प्रचण्डले यस्ता मौलिक चाडपर्वहरुले नेपालीहरु बीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने विश्वास ब्यक्त गरेका छन् ।

प्रचण्डले अगाडी भनेका छन्,–‘नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । २१ औं शताब्दीमा नेपाली पहिचान सहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो ।’ उनले  यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने विश्वास पनि लिएका छन् ।

यसैबिच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो । 

प्रतिक्रिया दिनुहोस