सीमा विवादबारे नेपाल र भारतबीच वार्ता हुने, मिति तोक्ने तयारीमा सरकार

पत्रपत्रिकाबाट

मंगलबार, १५ पुस २०७६, ०७ : ५७
सीमा विवादबारे नेपाल र भारतबीच वार्ता हुने, मिति तोक्ने तयारीमा सरकार

काठमाडौँ । नेपाली भू-भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा राखेकोमा वार्ता गर्न सरकारले मिति तोक्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्या समाधानका लागि भारतसँगको वार्ताका लागि मिति तोक्न लागेको जानकारी दिए ।

नोभेम्बर २३ मा औपचारिक पत्र पठाएर बैठक बस्न मिति दिइएकोमा भारतले समस्याको अनुभूति र समाधानको तत्परतासहित जवाफ पठाएको उनले जानकारी दिए । त्यसपछि नेपालले नयाँ मिति तोक्न गृहकार्य थालेको उनले बताए । मन्त्री ज्ञवालीले सीमा विवादले दुई देशबीचको सम्बन्ध बिग्रिएको भन्ने बुझ्न नहुने बताए । उनले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न भारत तत्पर रहेको दाबी गरे ।

भारतले गत नोभेम्बर २ मा जारी गरेको नक्सामा नेपाली भूमि राखेको छ । भारतको उक्त कदमको नेपालमा विरोध भएपछि सरकारले सीमा मिचिएको सम्बन्धि भारतलाई औपचारिक पत्र पठाएको थियो । जसको जवाफमा भारतले सीमा समस्या वार्ताद्वारा समाधान गर्न तयार रहेको बताएको थियो ।

मन्त्री ज्ञवालीले आर्थिक वर्ष २०७५/७६ मा सरकारले चीन र भारतसँग सार्थक आर्थिक साझेदारीमा आधारित सम्बन्धलाई विकास गर्न र विश्वासको बलियो जग स्थापित गर्न सफल भएको दाबी गरे । उनले नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई पूरा गर्न सरकार अनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सफल भएको बताए । कान्तिपुर दैनिकमा समाचार छ ।