भ्रमण वर्ष सफल पार्न व्यवसायी अग्रसर

रासस

शुक्रबार, ०४ पुस २०७६, २१ : १८
भ्रमण वर्ष सफल पार्न व्यवसायी अग्रसर

काठमाडौँ । खाने, बस्ने आवश्यक पूर्वाधार तयार गरी नेपाल भ्रमण वर्ष २०२० सफल पार्न यहाँका पर्यटन व्यवसायी अग्रसर भएका छन् । कृषि विकास बैंक शाखा कार्यालय रसुवाका प्रमुख विदुरकुमार श्रेष्ठका अनुसार पर्यटन प्रवद्र्धनका लागि रु १५ करोड ऋण लगानी भइसकेको र पर्यटन क्षेत्रको पूर्वाधार निर्माणका लागि ऋण लिने ऋणीको सङ्ख्या १५० पुगेका छन् ।

नजिकिँदै गरेको नेपाल भ्रमण वर्षमा आउने पर्यटक पाहुनालाई गुणस्तरीय बास व्यवस्थापनमा कृषि विकास बैंकले प्रदान गरेको ऋण रकम पर्यटन व्यवसायीका लागि हितकारी रहेको यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।

स्थानीयवासीको जीवनस्तर उकास्न बैंकले आफ्नो मापदण्डको अधीनमा रही पर्यटनका साथसाथै व्यापार–व्यवसाय र कृषि क्षेत्रमा समेत ऋण लगानी गरिरहेको छ । रु आठ करोड व्यापार–व्यवसाय एवं कृषि क्षेत्रमा रु आठ करोडसमेत कृषि विकास बैंकले हालसम्म कूल रु ३१ करोड लगानी गरिसकेको छ ।

बीउ पूँजीका लागि ऋण लगानीको माध्यमबाट ग्रामीण किसानको जीवनस्तर सुधार ल्याउन विसं २०३० को कात्तिक महिनादेखि रसुवा जिल्लामा कृषि विकास बैंक स्थापना भएको हो । बैंकले प्रवाह गरेको ऋणबाट अधिकांश किसान लाभान्वित भइरहेका छन् । सम्पर्कमा आएका सेवाग्राहीको काम सहज एवं छिटोछरितो तवरले  सम्पादन हुने भएकाले अधिकांश कृषक आफ्नो संस्थातर्फ आकर्षण भइरहेको उक्त बैंकले जनाएको छ ।

जिल्लामा सञ्चालित अन्य बैंकले ऋण प्रवाहमा राजमार्गमात्र केन्द्रित हुने देखिए पनि कृषि विकास बैंकले यार्सा, सरमथलीदेखि टिमुरे, थुमनसम्म विकट क्षेत्रमा बसोबास गर्ने गरिब किसानसम्म आफ्नो क्षेत्र निर्धारण गरेका कारण बढीभन्दा बढी किसान लाभान्वित भइरहेको बैंकले बताएको छ ।

कृषि क्षेत्रअन्तर्गत गाई, भैँसी, मौरी, कुखुरापालन र तरकारी खेतीतर्फ ऋण प्रवाह भएको बैंकले जनाएको छ । बैंकका अनुसार ऋणको उद्देश्य र भावनाअनुरुप मिहिनेत गरी आफ्नो आयवृद्धि गर्ने किसानलाई ऋण प्रवाहमा पहिलो प्राथमिकता दिइएको छ ।

यसैगरी सहकारीमा आबद्ध भएका किसान समूहलाई बाली तथा पशु संरक्षण बीमाको समेत व्यवस्था भएको बताइएको छ । कृषि विकास बैंकले १८ वर्ष पूरा भई ७० वर्षसम्मका किसानलाई ऋण प्रदान विगतका समयमा सरकारको निर्णयले रु ३० हजारसम्म ऋण मिनाहा पाएका किसानले तीन पुस्तासम्म ऋण नपाउने हल्ला निराधार भएको बताउँदै बैंक प्रमुख श्रेष्ठले अबका दिनमा जबर्जस्ती नभई मिहिनेत, इमान्दार, शिष्टभाव, सामाजिकरूपमा असल मानिएका किसानलाई ऋण प्रवाह हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस