नेकपा स्थायी कमिटी बैठक : सदस्यहरुले धारणा राख्ने क्रम जारी

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, १७ : २१
नेकपा स्थायी कमिटी बैठक : सदस्यहरुले धारणा राख्ने क्रम जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकमा तेस्रो दिन आज मंगलबार पनि स्थायी कमिटीका सदस्यहरुले धारणा राख्ने क्रम जारी रह्यो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि कमिटीका सदस्यहरुले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्नेक्रम जारी रह्यो । 

आज १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राखेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । १३ जना सदस्यहरुमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रहेको प्रवक्ता श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार राजनीतिक प्रतिवेदनमा प्रस्तुत भए बमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरुमा आजका वक्ताहरु केन्द्रित रहेका थिए । 

स्थायी समितिको अर्को बैठक भोलि पुस २ गते बिहान ११ बजे धुम्बाराहीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस